हात्तीको आतङ्कले पीडित बन्दै कञ्चनपुरको शुक्लाफाँटाका बासिन्दा

आजको खबर   |    प्रकाशित : २०७५ असोज २८ गते ५:५३

कञ्चनपुर । एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन्।

पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय बासिन्दा अनिदोमै रात काट्न थालेका हुन्। पुरै गाउँका बासिन्दाले होहल्ला गर्दै पटका पड्काउने, ढोलक बजाउने गरे पनि हात्ती खेतमा छिरेर धानबाली सखाप पार्ने गरेको छ।

रातभर अनिदो रहने बासिन्दा दिउँसभर सुत्ने गरेका छन्। पटाका पड्काउने र आगो देखेर तर्सेर भाग्ने गरेका हात्तीको झुण्ड तर्सनसमेत छाडेको स्थानीय पल्टु डगौराले भने, “धान खाएर आफैँ हात्तीको झुण्ड बिहानीपख शुक्लाफाँटा निकुञ्ज र सामुदायिक वनतर्फ लाग्ने गरेको छ।”

छावासहित २० भन्दा बढी हात्तीको झुण्ड भगाउनका लागि रातभर स्थानीयवासी छिमेकी गाउँका बासिन्दाको सहयोगमा लाग्ने गरेका छन्। जति गरे पनि हात्तीको झुण्ड नभाग्ने गरेको सोनु चौधरीले बताए।

हालसम्म हात्तीको झुण्डले रानीपुर र खजुवापट्टिमा मात्रै दश बिघा बढी क्षेत्रफलमा लगाएको धानबाली नोक्सानी गरेको छ। हात्तीको झुण्ड दुई भागमा बाँडिएर रहेकाले स्थानीय किसानले बढी क्षति व्यहोनुपरेको छ।

दुईतर्फबाट घेरेर हात्तीको झुण्डले धानबाली खाने गरेको छ। एउटा झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने र अर्को झुण्ड नजिकैको सामुदायिक वनबाट बस्तीमा आउने गरेको छ। एकै ठाउँमा हात्तीको झुण्ड भए भगाउन सजिलो हुन्थ्यो, सागर धामीले भने, “दुईतर्फबाट आउने भएकाले धानबालीमा बढी क्षति गरेको छ।”

दुई दिनअघि मात्रै हात्तीको झुण्डले वैशाखा र गणेशपुरका सात बढी बासिन्दाको घरसमेत भत्काएको थियो। घर भत्काएका परिवार छिमेकीको शरणमा बस्न बाध्य छन्। घरभित्र राखेको अन्नसमेत हात्तीले खाएपछि हात्ती पीडित परिवारको बिजोग भएको छ।

धनवीरे सार्कीले भने, “घर भत्कायो, भित्र राखेको अन्न सबै खायो, कपडा सबै च्यातचुत पार्यो। भाँडाकुडा कामै नलाग्ने बनायो। आउनै लागेको दशैँ हात्तीले खल्लो बनाइदिएको छ। हात्ती हाम्रै लागि दशा बनेर आएका रहेछ।” हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिकाको वडा नं १, २, ३, ५, ८ र १२ का दर्जनौँ बासिन्दाको धानबालीमा क्षति गरेको छ।

महीना दिनअघि भारतको दुधुवा नेशनलपार्कबाट यहाँ पुगेका हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिकामा मात्रै ४० बिघा बढी क्षेत्रफलमा लगाएको धानबाली नोक्सानी गरेको र एक स्थानीयलाई घाइते बनाएको नगरप्रमुख दिलबहादुर ऐरले बताए।

हात्तीको आतङ्कबाट पुरै नगरपालिकाका बासिन्दा त्रासमा छन्, उनले भने, “धानबाली खाएर सखाप त पार्यो नै स्थानीय बासिन्दाको ज्यान जोगाउन निकै सकस छ।”

स्थानीवासीको जीउधनको सुरक्षा गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सजग गराइएको उनको भनाइ छ। सुरक्षा निकायका तीनवटै अङ्गलाई हात्ती प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

२०७५ असोज २८ गते ५:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर