नेता बाँस्तोलाको निधनमा काँग्रेसद्वारा शोक प्रस्ताव पारित

आजको खबर   |    प्रकाशित : २०७५ असोज २८ गते १३:१७

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा आज शोक प्रस्ताव पारित गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न बसेको बैठकले नेता वास्तोलाको निधनले बौद्धिक, निष्कलङ्क, प्रखर र क्रान्तिकारी नेतालाई गुमाएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। नेता बाँस्तोलाप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।

यही असोज २९ गते केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय बन्द गर्ने काङ्ग्रेसले जनाएको छ। स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा श्रद्धाञ्जलि पुस्तिका राख्ने र १३ औँ दिन शोकसभा गर्ने निर्णय काङ्ग्रेसले गरेको छ।

नेता बाँस्तोलाको आइतबार राति ललितपुर खुमलटारस्थित आफ्नै निवासमा उपचारका क्रममा निधन भएको थियो । विसं २०६९ पुस १४ गते मोरङको एक सार्वजनिक कार्यक्रममा सहभागी भएका बेला मस्तिष्काघात भई अचेत भएका थिए। त्यसैबेलादेखि नेता बास्तोलाको उपचार भइरहेको थियो ।

बनारस हिन्दू विश्वविद्यालयमा पढ्दैदेखि राजनीति शुरु गरेका बाँस्तोला प्रजातान्त्रिक समाजवादी युवा लिगको स्थापनादेखि काङ्ग्रेस राजनीतिमा सक्रिय भएका हुन्। काँग्रेसको नेतृत्वमा भएका हरेक आन्दोलनमा उहाँले अग्रणी भूमिका निर्वाह गरे।

विसं २०२५ मा बिपी कोइराला निर्वासित भई भारत जानुभएपछि बाँस्तोलाले सशस्त्र सङ्घर्षको तयारी गरेका थिए । विसं २०६२ मा सात राजनीतिक दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारीको पृष्ठभूमि तयार गर्नमा समेत उनको महत्वपूर्ण भूमिका थियो। बाँस्तोलाले पर्यटन तथा नागरिक उड्डयन, गृह, परराष्ट्र, कृषि मन्त्रालयको कार्यभार सम्हालेका थिए।

उनले भारतका लागि नेपालको राजदूत रहेर समेत काम गरे । उनको जन्म विसं २००३ मंसिर ११ गते भएको थियो। बाँस्तोलाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने काँग्रेसले जनाएको छ।

२०७५ असोज २८ गते १३:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर