अनियमितता गरेको आरोपमा राजपाले निकाल्यो केन्द्रीय कार्यालयमा कार्यरत सबै कर्मचारी

आजको खबर   |    प्रकाशित : २०७५ असोज २९ गते ०:३७

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी हटाइएका छन्। दशैंको तलब दिएर उनीहरुलाई अब कार्यालय नआउन भनिएको छ।

कार्यालयमा काम गर्ने केही कर्मचारीहरुले आर्थिक चलखेल गर्नुको साथै यताकुरा उता उताका कुरा यता गरेको भन्दै उनीहरुलाई कामबाट निकालिएको स्रोतले जनाएको छ। काममा ध्यान नदिएको आरोप नेताहरुले लगाउँदै आएका थिए। ती कर्मचारीहरुको बारेमा पार्टीको अध्यक्ष मण्डलको बैठकदेखि राजनीतिक समितिको बैठकसम्म कुरा उठ्ने गरेको थियो।

दीप पाठक (कार्यालय सचिव), राजाराम पासवान पार्टीका सचिव, राजेश चौधरी, सतेन्द्र मिश्र (महन्थ ठाकुरको स्वकीय सचिव), सुरेन्द्र मण्डल, तिलक रावल, विद्याधर झा, दिलिप साह, महावीर शाही, रञ्जित कुमार झा र दुईजना अन्य महिलालाई कामबाट निकालिएको हो।

कार्यालयमा हुने कुनै पनि काम छपाईका काम, नास्ता, खाजा तथा अन्य आवश्यक चाहिने वस्तुको खरिदमा कमिशन खाने गरेको, पार्टीको काम नगरेर कार्यालयमा त्यतिकै गफ गरेर बस्ने गरेको लगायतका आरोप उनीहरुमाथि लागेको थियो।

६ वटा दल मिलेर बनेको राजपा नेपालमा ती दलबाट कर्मचारीहरु भर्ना भएका थिए। तर, ती कर्मचारीहरु काम गर्नुको सट्टा राजनीति बढी गर्थे। आ–आफ्ना नेतालाई कुरा लगाउने देखि लिएर आफ्ना नेताको काम मात्र उनीहरुले गर्ने गरेका थिए।

राजपा महासचिव विनोद सिंहले कार्यालयमा कर्मचारी धेरै भएका कारणले निकालिएको भन्दै अब चारजना नयाँ कर्मचारी मात्र राखेर कार्यालय सञ्चालन गरिने उनले बताए।

त्यहाँ काम गर्ने कर्मचारी बीच बोलचाल समेत थिएन। महतो समूहका कर्मचारी र महन्थ ठाकुर समूहको कर्मचारीबीच बोलाचाल नहुँदा त्यहाँका थुप्रै कार्यक्रमहरु प्रभावित भइरहेका थिए।

जहिले पनि एक अर्कालाई तल देखाउने र एक अर्कालाई होच्याउने गर्ने गरेकाले कर्मचारीका बीचमा द्वन्द्व थियो। तर, यो द्वन्द्वमा साना कर्मचारीहरु पनि पिसिएका छन्।

पार्टीका संयोजक महन्थ ठाकुरका स्वकीय सचिव सतेन्द्र मिश्रलाई प्रेसवालाले दशैंमा एउटा एलडी टीभी पनि उपहार दिएको त्यहाँका कर्मचारीहरु बताउँछन्। तर, सबै कर्मचारीलाई हटाइए पनि सतेन्द्रलाई हटाएइको छैन।

पार्टी कार्यालय सञ्चालनमा भएको खर्चको हिसाब, बील भौचरसमेत व्यवस्थित नराखिएको आरोप कर्मचारीमा लागेको छ। आर्थिक करोबारको समेत जिम्मेवारी पाएका पार्टीका संयोजक महन्थ ठाकुरसमक्ष बील भर्पाई प्रस्तुत हुँदैनथ्यो । भएपनि उनले त्यति ख्याल नगरि जे आउँथ्यो त्यसमा हस्ताक्षर गरेर पठाउँथे।

स्थानीय तहको चुनावमा ती कर्मचारीले सातलाख ४० हजार रुपियाँ घोटला गरेको चर्चा पार्टीभित्र व्याप्त छ।

बबरमहलमा रहेको पार्टी कार्यालयमा महन्थ ठाकुरको तर्फबाट ६ जना कर्मचारी थिए भने राजेन्द्र महतोको तर्फबाट तीनजना थिए। शरदसिंह भण्डारी र महेन्द्रराय यादवको तर्फबाट एक–एकजना थिए।

२०७५ असोज २९ गते ०:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर