आजबाट सर्वसाधारणलाई श्रीपेच अवलोकनका लागि खुला (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज २९ गते १०:२३

काठमाडौँ। शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ। प्रधानमन्त्री केपी ओलीले सोमबार नारायणहिटी दरबार संग्राहलयामा एक समारोहबीच उद्घाटन गरेसँगै श्रीपेचसहितका १२ वटा महत्वपूर्ण सामग्री पनि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन्।

नारायणहिटी संग्राहलय पुग्ने सर्वसाधारणले अव सो संग्राहलयको सुर्खेत र रुपन्देही कक्षमा श्रीपेचसहितका दरबारका मुख्यमुख्य सामग्रीहरु राजदण्ड, रानीको मुकुट, तरबार, झारीलगायतका सामग्री पनि अवलोकन गर्न पाउनेछन्।

समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले श्रीपेचको प्रर्दशनी भएको दिनलाई नेपालको इतिहासको स्मरणीय दिनको रुपमा चित्रण गरे। उनले श्रीपेचले नेपालको शाहवंशीय राजाहरुले राष्ट्रको एकीकरणमा पु–याएको योगदानको पनि स्मरण गराउने उल्लेख गरे।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले ५२ वटा कक्ष रहेको सो संग्राहलयको अरु कक्षहरु पनि क्रमशः सार्वजनिक गर्दै लैजाने योजना सुनाए। उनले दरबारको शक्तिको प्रतिकको रुपमा रहेको श्रीपेचको प्रर्दशनीले नेपालमा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण सघाउ पु–याउने विश्वास पनि व्यक्त गरे।

अवलोकनका लागि राखिएको सो श्रीपेचमा ७ सय २३ वटा हिराको दाना, २ हजार ३ सय ७२ वटा मोतीका दाना, ४७ वटा पन्ना, १६ वटा मणिमाणिक्यजस्ता रत्न जडित रहेका छन्।

शाहबंशीय राजाहरुले शक्तिको प्रतिकको रुपमा श्रीपेच र राजदण्डलाई धारण गर्ने गर्दथे। पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहालका अनुसार अवलोकनका लागि राखिएको श्रीपेच पूर्वराजा विरेन्द्र शाहका लागि तयार गरिएको थियो। काठमाडौंका प्रेमलाल श्रेष्ठले २०२८ सालमा यो श्रीपेच तयार गरेका थिए।

शाहबंशीय राजा राजेन्द्र वीरविक्रम शाहदेवको पालादेखि चलनमा ल्याइएको श्रीपेच राजाहरुले राज्यरोहण, राज्याभिषेक, छोरीको कन्यादान गर्ने बेला, युवराज्ञीलाई भित्र्याउँदा तस्वीर खिचाउने बेला शीरमा लगाउने चलन रहेको थियो। शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहले २०६५ साल जेठ २९ गते दरबार छाडेसँगै श्रीपेचलाई दरबारको सैलुन कक्षमा राखिएको थियो। तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा गणतन्त्र स्थापना भएसँगै दरबार छोडेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालको राष्ट्रिय झण्डोत्तोलन गरी सो दरबारलाई नारायणहिटी संग्राहलयको रुपमा घोषणा गर्नु भएको थियो।

२०६५ साल फागुन १५ गते सर्वसाधारणका लागि खुला गरिएको सो संग्राहलयमा राजदरबारसँग सम्बन्धित धेरै सामग्रीहरु सर्वसाधारणले अवलोकन गर्दै आएका थिए। वर्तमान सरकारले आवश्यक सुरक्षाको व्यवस्था गरी राजदरबारको सबैभन्दा महत्वपूर्ण सामग्री श्रीपेचलाई आजबाट सर्वसाधारणका लागि अवलोकन गर्न मिल्ने गरी सार्वजनिक गरेको हो। बुलेट प्रुफ सिसासहितको सोकेसमा श्रीपेच राखिएको छ। नेपालको शाहवंशीय राजाहरुले लगाउने श्रीपेच विश्वकै लागि आकर्षणको केन्द्र हुने विश्वास गरिएको छ।

२०७५ असोज २९ गते १०:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर