बाढीपीडित बस्तीमा छैन दशैँको रौनक

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १ गते ३:१५

सुर्खेत। यहाँका बाढीपीडितका शिविरमा दशैँको कुनै उल्लास छैन। विस्थापित चार वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन्।

गिरिघाट शिविरका रामबहादुर नेपालीले आफूहरुको पुनःस्थापना नहुँदा चाडपर्वका बेलासमेत बाढीको पीडा भुल्न नसकेको बताए। थुपै्र विस्थापितले जमरा राख्न ठाउँ पाएनन्। “जमरा राख्ने ठाउँ छैन, पालमुनि कता सुत्नु, कस्ता भान्सा बनाउनू ?” उनले भने, “जब बाढीले बिल्लीबाठ पार्यो, त्यति बेलैदेखि हामीले चाडपर्व मनाउन पाएका छैनौँ।” यहाँका बराहताल गाउँपालिका, पञ्चपुरी, वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकामा चार वर्षदेखि बाढीपीडित विस्थापित जीवन बिताउन बाध्य छन्।

विसं २०७१ साउन २८ र २९ गते सुर्खेतमा आएको भीषण बाढीले धनजनमा ठूलो क्षति पुर्यायो, नौ सय ७० परिवार विस्थापित हुनाका साथै ११५ जनाको मृत्यु भयो। वर्षभरी खान पुग्ने खेतबारी बाढीले बगरमा परिणत गराएपछि गिट्टी कुटेर गुजारा चलाउनुपरेको छ।

विस्थापित परिवार अहिले पनि पुराना खुइलिएका पालको शरणमा छन्। तीनैमध्येकी हरिहरपुर डोप्काकी नन्दकली विक एक हुन्। उनको आर्थिक स्थिति राम्रै थियो। भेरीको बाढीले परिवारलाई बिल्लीबाठ मात्र बनाएन, वर्षभरी खान पुग्ने खेतबाली बगर बनायो। “नौ मुरी गहुँ बेच्थ्यौँ। साठी ७० मुरी बदाम फल्थ्यो, अझै पालबाट मुक्ति पाएका छैनौँ”, नन्दकलीले भने, “बस्ने बास खाने अन्न नभए केको चाडपर्व मनाउनु।”

गिरिघाट शिविरका सबै बराहताल गाउँपालिकामा पर्ने हरिहरपुर गाउँका बासिन्दा हुन्। बाढीले थातथलो बगरमा परिणत गरेपछि त्यहाँका सिस्नेरी, डोप्का, थापाडेराका बासिन्दा वीरेन्द्रनगर उपत्यका नजीकको गिरिघाट जङ्गलमा आश्रय लिएका हुन्। चार वर्षसम्म पुनःस्थापना नहुँदा विस्थापित आक्रोशित छन्। आफूहरुको समस्या नेताले केवल भाषणको विषय मात्रै बनाएको आरोप छ। “यतिका वर्षसम्म पुनःस्थापना नहुँदा दुःख लागेको छ”, रामबहादुर भन्नुहुन्छ, “यस पटकको दशैँ पनि छाप्रामै मनाउनुपर्ने भो। पुनःस्थापना एकादेशको कथा पो बन्यो।”

बाढीपीडित ललितबहादुर शाहीले गाउँपालिकाले दुइटा बजेट ल्याइसक्दा समेत आफूहरुलाई सम्बोधन नगरेको गुनासो गरे। “विस्थापितलाई ‘राष्ट्रिय समस्या’ भन्दै स्थानीय जनप्रतिनिधिले कुनै चासो दिँदैनन्”, उनले भने, हाम्रो पीडा न स्थानीय सरकारले बुझेको न त प्रदेश र केन्द्रले नै।” गिरिघाट शिविरका ५४ वर्षीय रामबहादुर सुनार नेताको भाषण झल्झल्ती सम्झिरहेको बताउछन्। “पुनःस्थापना गराउँछौँ भनेर भोट मागेको सम्झना अझ ताजै छ”, उनले गुनासो पोख्दै भने, “उतिबेला एक भोटको पनि महत्व थियो, आश्वासन दिनुसम्म दिए, आजभोलि फर्केर हेर्दैनन्।”

वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र परिसरमै बाढीपीडितको शिविर छ। नजीकै प्रदेश सरकार छ तर पुनःस्थापनाको विषय प्रदेश संसद्मा गफ गर्ने विषयमै सीमित बन्न पुगेको छ। प्रदेशसभा बैठक शुरु भएयता कतिपय सांसदले यही समस्यालाई लिएर पटक पटक सरकारको ध्यानाकर्षण गराइरहेका छन्। पुनःस्थापना कहाँ कसरी गर्ने भन्नेमै प्रदेश सरकार अलमलमा छ। कर्णाली प्रदेश सरकारले चालू बजेटमा बाढीपीडितका लागि अलग्गै बजेट छुट्याएको छैन।

सुशील कोइराला नेतृत्वको सरकारले सुर्खेतलगायत पाँच जिल्लाका बाढीपीडितलाई भूकम्प पीडितसरह राहत दिने घोषणा गर्यो। त्यसपछि बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पनि यही निर्णयमा टेकेर कार्यविधि बनायो। भूकम्पपीडितसरह राहत÷अनुदान पाउने भएपछि त्यतिबेला विस्थापित उत्साही बने। अन्ततः अधिकांश विस्थापितले त्यही अनुदान लिन पाएनन्। कारणसरकारले जग्गा खरीदका लागि अति न्यून बजेट छुट्याउनु थियो। जग्गा खरीदका लागि पहिलो किस्तावापत ५० हजार त बुझेँ तर त्यतिले वीरेन्द्रनगरमा घडेरी किन्न सम्भव भएन। “लालपूर्जा नहुँदा बाँकी किस्ता रकम लिन सकिएन”, विस्थापित बलबहादुर नेपाली भन्छन्, “भूकम्प पीडितसरह भनिए पनि पहिलो किस्ता रकम निकै कम दियो। रु ५० हजारले कहाँ जग्गा आउनू ?”

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले बजेट कम भएकै कारण अधिकांश विस्थापितले आवास निर्माण गर्न नसकेको बताएको छ। सरकारले बाढीपीडितलाई भूकम्प पीडितसरह घर बनाउन रु तीन लाख र जग्गा खरीद गर्न रु ५० हजार अनुदान उपलब्ध गराएको थियो। अन्ततः बजेट कम भएकै कारण आवास निर्माण सम्झौता हुन सकेन। बाढीपहिराबाट विस्थापन भएको अढाइ वर्षपछि तत्कालीन सरकारले पहिलो किस्ता रकम पठाए पनि खर्च नभएरै फिर्ता हुन पुग्यो । शहरी विकासका अनुसार गत वर्ष पहिलो किस्तावापत आएको १० करोडमध्ये सात करोड फिर्ता भएको छ।

२०७५ कार्तिक १ गते ३:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर