कञ्चनपुरमा पहुरा र नृत्यसहित थारु समुदायको टीका

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ३ गते ३:३८

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर सिंहपुरका जोगराज चौधरीमा मुग्रहवा नृत्यसहित देशबन्धीया गुरुवाको घरमै नृत्य टोलीसहित पुगेर टीका थाप्दा बेग्लै खुशी देखिन्थ्यो। २५ किलोमिटरको बस यात्रा तय गर्दै उनले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गुरुवा फूलराम चौधरीको घरमा पुगेर टीका थापेका हुन्।

टीका थापेपछि नृत्य टोलीको नृत्य गुरुवालगायतले रमाएर हेरेका थिए। गुरुवाको हातको टीका थाप्न टाढाबाट सो समुदायका मानिसहरु आएका थिए।

‘मुग्रहवा नृत्य लोपोन्मुख अवस्थामा पुगेकाले सबैलाई देखाएर मनोरञ्जन गर्न आएको छु।’ उनले भने, “थारु समुदायमा देशबन्धीया गुरुवाको स्थान सबैभन्दा उच्च हुने हुँदा टीका थाप्न आएका हौँ।”

थारु समुदायको बडादशैँको टीका थाप्न जाँदा नृत्यसहित पहुरा कोसेली लिएर जानुपर्ने चलन छ।उनीहरु पहुराका रुपमा टीका, जमरा, बेवरी, चामल र मदिरा लिएर जान्छन्।

गुरुवासँगै गाँउका मान्यजन, वडाध्यक्ष, वडा सदस्य, बडघर, केसौका र चौकिदारको घरमा कोसेलीसहित पुगेर टीका थाप्नुपर्ने चलन छ। शुक्लाफाँटा नगरपालिका–३ का पुरन चौधरीले वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीको घरमा सखिया नृत्य टोलीसहित पुगेर टीका थापेको बताए।

पालो पर्खदै पहुरा लिएर थारु समुदायका बालबालिका, बुढापाका, महिला र तन्नेरी टीका थाप्न मान्यजन कहाँ जाने गर्छन्। टीका थाप्न गाँउगाँउबाट सखिया, छोक्रा, लठुवा, र छोक्रा नाचसँगै पहुरारुपसहित मान्यजन कहाँ चलन रहेको स्थानीयबासी परदेशी चौधरीले बताए।

गाँउका मान्यजनका रुपमा समाजले सामाजिक र सांस्कृतिक कार्य गर्न चुनेका बडघर, गुरुवा र केशौकाबाट पहिलो टीका थापेर आशिर्वाद लिनुपर्ने परम्परागत चलन रहेको उनले बताए।

बडघर पछि गुरुवा, केसौका र अन्य मान्यजनबाट पालोपालो सामूहिक रुपमै थारु समुदायले टीका थाप्ने गरेका छन्। टीका थाप्नेका लागि टीका लगाउने बडघरमा चामलको पिठोबाट बनेको ढिक्री, दालभात, माछा मासु र तरकारी खुवाउने व्यवस्था मिलाएको बडघर जोनापुरका बडघर रामप्रसाद चौधरीले बताए।

टीका थाप्न परिवारसहित बडघरमा पुगेका विश्राम चौधरीले छोक्रा नाचसहित टीका लगाउन आएको बताए। आज दिनभर बडघरमा सखिया नाचको रौनक हुने भएकाले झनै उमङ्ग थपिएको उनले बताए।

टीका पछिको दोस्रो दिन घर घरमा गएर अन्तिम पटक सखिया नाच नाचेर नृत्य टोलीलाई खेरा भोज खुवाएर दशैँ अन्त्य हुनेछ।

२०७५ कार्तिक ३ गते ३:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर