राजमार्गमा दुर्घटना घटाउन रबरको स्पीड ब्रेकर

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ६ गते १५:५६

धादिङ । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि पृथ्वी राजमार्गमा नयाँ प्रविधिको प्रयोग शुरु गरिएको छ।

राजमार्गका अत्यधिक सवारी दुर्घटना हुने क्षेत्रमा अहिले रबर स्पिड ब्रेकर राख्न शुरु गरिएको होे। पृथ्वी राजमार्गमा भने यो प्रविधिको पहिलो पटक प्रयोग गरिएको हो।

यसरी राखिएको स्पिड ब्रेकरमा सवारी साधन आइपुगेपछि सवारी चालकले स्पिड घटाउने भएका कारण दुर्घटनाको सम्भावना कम हुने प्राविधिकको विश्वास छ। सो स्पिड ब्रेकर सवारी दुर्घटना अत्यधिक हुने घुम्तीको तीन सय मिटर अगाडिदेखि राखिएको छ।

स्पिड ब्रेकरमा आएपछि चालक आफैँ जानकार भई गाडीलाई कम गतिमा लगेर सुरक्षित बनाउन सजग गराउने उद्देश्यले राजमार्गमा स्पिड ब्रेकर राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए।

मुग्लिन– नरायणघाट सडक खण्डमा पुलको नजीक र पृथ्वी राजमार्गमा भने दुर्घटना हुने घुम्तीमा यस्तो प्रविधिको प्रयोग गरिएको छ। यसका साथै राजमार्गका संवेदनशील क्षेत्रमा ट्राफिक चिह्नलगायत सडक बत्तीको समेत व्यवस्था गरिएको छ।

अहिले परीक्षणका रुपमा नौबीसे –मौवाखोला सडक खण्डमा पर्ने घाटबेंसी र हुग्दी खोलाको घुम्तीमा स्पिड ब्रेकर राखिएको छ। पृथ्वीराजमार्गको धादिङ खण्डमा हरेक दिन १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने ट्राफिक प्रहरीले जनाएको छ।

२०७५ कार्तिक ६ गते १५:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर