निर्मला हत्या प्रकरण : निलम्बित एसपीले बुझाए स्पष्टिकरण

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ७ गते १५:४८

काठमाडौं । निर्मला हत्या प्रकरणमा चरम लापरबाही गरेको भन्दै निलम्बन गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले गृहमन्त्रालयमा बुधबार स्पष्टिकरण पत्र बुझाएका छन् । मंगलबार उनले गृहको २४ घण्टे स्पष्टिकरण पत्र बुझेका थिए ।

एसपी विष्टसहित निलम्बनमा परेका प्रहरी निरीक्षक जगदिश भट्टले गृहमन्त्रालयमा स्पष्टिकरण दिएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ। विस्ट र भट्ट दुबै जनाले सो घटनामा आफूहरुले कुनै लापरबाही नगरेको दावी गरेका छन्।

प्रहरी प्रधान कार्यालयले बिष्ट र भट्टको स्पष्टीकरण बुझाएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएको राससले जनाएको छ। उनका अनुसार उक्त स्पष्टीकरणमाथि अध्ययन बुधबारदेखि शुरु भएको र कानूनी प्रक्रिया पूरा गरेर त्यसबारे निर्णय लिइनेछ।

मन्त्रालयका सहसचिव हरि मैनाली र तत्कालीन प्रहरी नायब महानिरीक्षक धिरु बस्नेतको संयोजकत्वमा गठित समितिले घटनाको स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो।

गत साउन १० गते कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । सो हत्या तथा बलात्कारको घटनामा तत्कालीन कञ्चनपुर प्रहरीको नेतृत्व गरेका एसपी विष्टको भूमिका विवादस्पद भएको भन्दै स्थानीयले आन्दोलन गरेका थिए।

स्थानीयले आन्दोलन गर्दा प्रहरीको गोली लागेर अर्का एक जना बालक सुन्नी खातुनकोसमेत मृत्यु भएको थियो। सरकारले सो घटनाबारे छानविन गर्न समिति बनाएको थियो भने प्रहरीले पनि समिति बनाएको थियो।

दुबै समितिले प्रहरी नेतृत्वको कमजोरी रहेको भन्दै निश्कर्ष निकालेपछि एसपी विष्टसहित अन्य प्रंहरी अधिकारी र जवानलाई पनि लिम्बन गरिएको थियो। तर गृहले निलम्बनमा रहेका सबैलाई स्पष्टिकरण नसोधेर एसपी विष्ट र निरीक्षक भट्टलाईमात्र सोधेको हो।

उनीहरु दुबै जनालाई सेवाबाट बरखास्त गर्ने गृहको तयारीरहेको समेत बताइएको छ । त्यसैका लागि स्पष्टिकरण सोधिएको दावी छ।

२०७५ कार्तिक ७ गते १५:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर