क्रिकेटको विश्वकप ट्रफी नेपालमा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ९ गते १६:०१

काठमाडौँ । इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइएको छ।

संयुक्त अरब इमिरेट्स (युएइ)बाट विश्वकप ट्रफी आज नेपाल ल्याइएको हो। सोमबारसम्म नेपालमा राखिने उक्त ट्रफी आजै साँझ स्वयम्भूमा लगेर सार्वजनिक गरिएको छ। स्वयम्भूमा गरिएको प्रदर्शनीमा क्रिकेटका समर्थकको बाक्लो उपस्थिति थियो।

आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलेका अनुसार शनिबार बिहान ट्रफी पोखरा क्रिकेट रङ्गशाला लगिनेछ। पोखरा प्रिमियर लिग (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति रहेकाले ट्रफी त्यहाँ लैजान लागिएको हो।

घिमिरेले भने, “ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको क्रेज बढाउनु र पर्यटन प्रवद्र्धन गर्नु हो, पोखरा रङ्गशालाका साथै फेवाताल र सराङकोटसम्म पुर्याउने तालिका छ, समयले भ्याएसम्म रुपा ताल र बेगनास तालसम्म ट्रफी पुर्याइनेछ।”

शनिबार बेलुकी पोखराबाट पुनः काठमाडौँ ल्याइ कात्तिक ११ गते चन्द्रागिरि लगेर प्रदर्शनीमा सञ्चारकर्मीलाई तस्बीर खिच्न दिइने छ। सोही दिन वसन्तपुर दरबार क्षेत्रमा राखी क्रिकेट समर्थक र सर्वसाधारणलाई ट्रफीसँग तस्बीर खिच्न दिइनेछ। नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा सो ट्रफी यहाँ ल्याइएको बताइएको छ।

निशान कम्पनीको सहायताले एक सय दिने विश्व भ्रमणमा रहेको ट्रफी टुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याइएको हो।

ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ। ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने जनाइएको छ।

२०७५ कार्तिक ९ गते १६:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर