यूएईमा नेपाली युवतीबीच छुरी हानाहान, एकको मृत्यु, तीन घाइते
आजको खबर | प्रकाशित : २०७५ कार्तिक ११ गते १३:३२

काठमाडौं। यूएईमा नेपाली युवतीहरुबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
झगडा गर्ने युवतीहरु यूएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत थिए। नुवाकोट जिल्ला घर भएकी सोनी तामाङले ४ जनालाई छुरा प्रहार गर्दा काठमाडौंकी सिर्जना बरालको मृत्यु भएको र बाँकी ३ जना घाइते भएको अबुधाबीस्थित नेपाली दुतावासले जनाएको छ।
झगडाका क्रममा ममता चौधरी गम्भीर घाइते रहेको र चौधरीको आईसियुमा उपचार भइरहेको समेत दुतावासले जानकारी दिएको छ। घटनामा घाइते भएकामध्ये सलिना मगर र आशा दर्जी उपचार पछि कार्यस्थल फर्किसकेको दुतावासले जनाएको छ। घाइतेहरुको ठेगाना भने खुलेको छैन।
सोनी तामाङले मादक पर्दाथ सेवन गरि झगडा सुरु गर्दा युवतीहरुबीचमा झगडाले उग्र रुप लिएकोले छुराप्रहारसम्म चलेको नेपाली दूतावास आबुधावीका कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिएका छन्।
हत्यामा संलग्न तामाङलाई उनले प्रयोग गरेको छुरासहित त्यहाँको प्रहरीले नियन्त्रणमा लिइसकेको समेत उनले बताए।
हत्यारा तामाङलाई यूएईको कानुन बमोजिम नै कारबाही हुने दूतावासले जनाएको छ। यूएईको कानुन अनुसार मृतकको परिवारको माग अनुसार हत्यामा संलग्नलाई मृत्युदण्ड वा ब्लडमनीको जरिवाना हुनसक्ने प्रावधान रहेको दूतावासले जानकारी दिएको छ।