पुल निर्माणका लागि चट्टान फोर्दै नेपाली सेना

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ११ गते १४:११

रोल्पा । दश वर्षदेखि अलपत्र माडिखोला पुल निर्माण अघि बढे पनि कडा चट्टानका कारण समस्या देखिएपछि अहिले नेपाली सेनाको सहयोगमा चट्टान फोर्न शुरु गरिएको छ।

साँघुरो भौगोलिक संरचनाका कारण पुल निर्माणस्थल नजीकको डाँडा कटान गरी फराकिलो बनाउने क्रममा कडा चट्टान भेटिएपछि निर्माण तीव्र गति लिन सकेको थिएन।

सेनाको खड्ग दल गणले सो निर्माणस्थलमा रहेको चट्टान हटाउने कार्य थालनी गरेको बताइएको छ। “विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फोर्ने कार्य थालनी गरेका छौँ”, निर्माण व्यवसायी राजवीर घर्तीले बताए।

चार पटक विस्फोटक पदार्थ प्रयोग भइसकेको र अझै ३० पटक प्रयोग गर्नुपर्ने बताइएको छ । हरेक चार दिनको अन्तरालमा विस्फोटक पदार्थ प्रयोग गरिँदै आएको छ। मन्त्री वर्षमान पुन र पूर्वमन्त्री हृदयेश त्रिपाठीले दश वर्षअघि शिलान्याश गरेको सो पुल निर्माण व्यवसायीको लापरवाहीले अवरुद्ध हुँदै आएको थियो।

पुरानो सम्झौता रद्द गरी नयाँ बोलपत्र आह्वान भएसँगै गत भदौ १ गतेदेखि पुनः निर्माण थालनी गरिएको बताइएको छ। उक्त पुल डेढ वर्षभित्र सम्पन्न गरिसक्ने निर्माण व्यवसायी घर्तीले जानकारी दिए। पुल बनेमा पश्चिम रोल्पाका चार गाउँपालिकाका साथै रुकुम र दाङ जिल्लासमेत सदरमुकाम लिवाङको सडक सञ्जालमा जोडिने छन्।

२०७५ कार्तिक ११ गते १४:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर