नेपाल-मलेसिया श्रम वार्ता आज हुँदै, मलेसियाको बन्द रोजगारी खुल्ने

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १२ गते ०:४२

काठमाडौँ। नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धमा सोमबार मन्त्रिस्तरीय वार्ता हुँदैछ। द्विपक्षीय वार्तामा भाग लिन मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान गए राति काठमाडौँ आएका छन्।

वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गर्नेछन्। वार्तामा उनीहरुबीच नेपालबाट मलेसियाका लागि श्रमिक आपूर्ति, आप्रवासी कामदारका हकहितका विषयमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ। त्यसपछि दुवै देशका श्रममन्त्रीले श्रमिक आपूर्ति गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

दुई सरकारका उच्च अधिकारीले हस्ताक्षर गरेसँगै विगत छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने छ। नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहेपनि श्रम सम्झौता हुन सकेको थिएन। विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने प्रावधान समझदारीपत्रमा समेटिएको छ। अब मलेसिया जाने कामदारले कुनै शुल्क तिर्नुपर्ने छैन। रोजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम् लाभ प्राप्त गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर हुने श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले राससलाई जानकारी दिए।

त्यस्तै नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटोलाई पनि सम्झौताले सम्बोधन गर्नेछ। समझदारीपश्चात् नेपाली कामदारको २४ घन्टे बीमा, रोजगारदाता मुलुकमा विरामी हुँदा उपचारमा लाग्ने खर्च, बिदालगायत सेवा सुविधा सुनिश्चित हुने विश्वास लिइएको छ।

नयाँ समझदारीअनुसार कामदारको करार अवधि दुई वर्षको हुनेछ। यसअघि तीन वर्षको करार अवधिमा नेपाली कामदार रोजगारीका लागि मलेसिया जाने गरेका थिए। मलेसियाका लागि कामदार आपूर्ति गर्दै आएका ‘मेनपावर कम्पनी’ले रोजगारदाता मुलुकका सम्बन्धित कम्पनीबाटै सेवा शुल्क पाउनेछन्।

नेपाल सरकारले विभिन्न शीर्षकमा कामदारसँग अवैध शुल्क लिँदै आएका एजेन्सीको खारेजीसँगै छ महीनादेखि मलेसियाका लागि श्रमिक आपूर्ति ठप्प भएको थियो। छ महीनाको अवधिमा कामदार आपूर्तिलाई सहज बनाउन भन्दै दुई मुलुकका अधिकारीबीच पाँच पटकसम्म कूटनीतिकस्तरमा छलफल भएको थियो। दुई देशबीच तीन पटकसम्म श्रम समझदारीको मस्यौदा आदानप्रदान भएको थियो।

मस्यौदालाई अन्तिम रुप दिन गत महीना नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो। गत असोज १२ गते मलेसियाको पुत्रजयामा नेपाली पक्ष र मलेसियाली पक्षबीच समझदारीपत्रका अन्तरवस्तुमा सहमति जुटेको थियो।

रोजगारी खुल्न केही समय लाग्ने
दुई सरकारका उच्च अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भए पनि मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्नेछ। प्राविधिक तयारी गर्नुपर्ने भएकाले तत्काल मलेसियाका लागि श्रम स्वीकृति प्रदान गर्न नसकिने प्रवक्ता रेग्मीले बताए।

समझदारीपछि कामदार आपूर्तिका ढाँचा तय गर्न दुई देशका अधिकारी सम्मिलित प्राविधिक टोली गठन हुने विश्वास छ। सोही टोलीले कामदार छनोट, प्रवेशाज्ञा, स्वास्थ्य परीक्षणलगायत विषयमा सहजीकरण गर्नेछ।

नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य हो। वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीमध्ये मलेसियामा करीब ३० प्रतिशत कार्यरत छन्। अझै पनि मलेसियामा करीब पाँच लाख नेपाली काम गरिरहेका छन्, जसमा सबैभन्दा बढी सुरक्षा गार्ड छन्।

२०७५ कार्तिक १२ गते ०:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर