३ दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति भण्डारी आज कतार जाँदै
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १२ गते १:०५

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) कतार जाँदैछिन्। उनी मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी कतार जान लागेकी हुन्। उनी सोमबार विहान करिब ११ बजे काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ।
आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा सोमबारदेखि राष्ट्रपति भण्डारीको ३ दिने कतार भ्रमण स्विकृत गरेको थियो।
राष्ट्रपति भण्डारीको कतार भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध र सहयोग विस्तार रहेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल–कतारबीच कृषि तथा पशुपंक्षी, स्वास्थ्य, सुरक्षा, प्रेस तथा सूचना र कुटनीतिक राहदानी सम्बन्धि छुट्टाछुट्टै समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ।
राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, सञ्चारकर्मी एवम् उद्योगीसमेत रहनेछन्।