चीनमा खानी दुर्घटनामा : १९ जनाको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १२ गते १२:४१

बेइजिङ । यसै महिनाको शुरुमा पूर्वी चीनमा भएको एक खानी दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टी भएको छ । उक्त दुर्घटनामा २२ जना परेको चिनीया सञ्चार माध्यमले जनाएको छ।
सिन्ह्वाका अनुसार गत अक्टोबर २० मा कोइला खानीको सुरुङभित्र काम गरिरहेका मजदूर सुरुङको दुवैतर्फ ढुङ्गा खसेर थुनिएका थिए। हालसम्म एकजना मजदूर मात्रको उद्धार गरिएको छ । अन्य दुई जनाको खोजी कार्य जारी छ।
उक्त दुर्घटना शान्दोङ प्रान्तको लङ्ग्यून कोल माइनिङ कम्पनीको खानीमा भएको हो। चीनमा बर्सेनि खानीमा घातक दुर्घटनाहरु हुने गरेका छन् । डिसेम्बर २०१६ मा भएका दुईवटा खानी दुर्घटनामा कम्तीमा ५९ जना मजदूरको ज्यान गएको थियो ।
चीनको राष्ट्रिय कोइला खानी सुरक्षा प्रशासनका अनुसार सन् २०१७ मा कोइला खानीमा ३ सय ७५ जना मजदूरको मृत्यु भएको थियो। चीनमा अबैध कोइला खानी सञ्चालनका साथै सुरक्षाको भरपर्दो व्यवस्था नहुँदा ठूलो संख्यामा मजदूरको ज्यान जाने गरेको छ।