छठसम्म माग पूरा नभए सिंहदरबार घेर्ने अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीको चेतावनी
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १३ गते १०:५६

काठमाडौं। सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलन चलिरहेको छ।
मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कर्मचारीले आफ्ना माग पूरा नभए सिंहदरबारमा जे पनि गर्न सकिने चेतावनी दिएका छन्।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका संयोजक कुमार राउतले आफूहरुको रोजिरोटी नखोस्न सरकारलाई चेतावनी दिए।
राउतले २०–२५ वर्षसम्मकाम गरेका कर्मचारीलाई सरकारले तीन महिनाको तलब दिएर हटाउन लागेको भन्दै आपत्ति जनाए। ३२ हजार कर्मचारीको रोजिरोटी खोसिएकोप्रति गुनासो गर्दै राउतले छठसम्म माग पूरा नभए सिंहदरबार पस्ने चेतावनी दिए।
“छठसम्म माग पूरा नभए सशक्तआन्दोलन गर्छौँ। हामी मर्न पनि तयार छौँ। रोजिरोटी खोसिएका कर्मचारीका परिवारलाई सिंहदरबार छिराउँछौँ।” राउतले भने।
आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोख्रेलले अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई सरकारले नियम र विगतमा भएका सम्झौता अनुसार व्यवस्थापन गर्नुपर्ने बताए।
सर्वोच्चले यस्ता कर्मचारी नराख्न आदेश दिएपनि सरकारले पालना नगरेको भन्दै उनले अहिले हटाउन खोज्नु गलत भएको तर्क गरे।