कास्कीमा अख्तियार दुरुपयोगविरुद्ध उजूरीका चाङ

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १३ गते १५:१६

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तीन महीनामा अख्तियार दुरुपयोगविरुद्ध पौने दुई सय उजूरी परेका छन्।

आर्थिक वर्ष २०७५,७६ को साउनदेखि असोजसम्म १६९ नयाँ उजूरी परेका हुन्। पुरानोसहित ४५६ उजूरी परेको आयोगको पोखरा कार्यालयले जनाएको छ।

विस्तृत अनुसन्धानमा आठ, तामेलीमा १९, अन्य कार्यालय वा महाशाखामा प्रेषित सात, कारवाहीका लागि लेखिपठाएको १३ र अन्य उजूरीमा गाभिएका २२ छन्। उजूरीमध्ये ६९ को फछ्र्योट भएको तथा फछ्र्योट हुन बाँकी ३८७ रहेको पोखरा कार्यालयका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए।

आयोगको पोखरा कार्यालयले गण्डकी प्रदेशको नवलपुरबाहेक १० जिल्ला हेर्दै आएको छ। सबैभन्दा बढी कास्की जिल्लामा उजूरी परेको छ।

कास्कीमा तीन महीनामा ८८ उजूरी परेका छन् भने मनाङमा परेको छैन। कास्कीपछि पर्वत र तनहुँ बढी उजूरी पर्ने जिल्लामा देखिएका छन्। पर्वतमा २२ र तनहुँमा १८ उजूरी परेका छन्।

मन्त्रालयगत उजूरीको विवरण हेर्दा सबैभन्दा बढी सङ्घीय मामिला तथा सामान्य प्रशासनमा देखिएको छ। सो मन्त्रालयमा तीन महीनामा ६७ उजुरी परेका छन्। त्यसपछि शिक्षा विज्ञान प्रविधि देखिएको छ जसमा ३६ उजूरी परेका छन्। तीन महीनाभित्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उजूरी परेको छैन।

गत आर्थिक वर्ष यसै अवधिमा सबैभन्दा बढी शिक्षा मन्त्रालयअन्तर्गत ५० उजूरी परेकामा सो आर्थिक वर्षको तीन महीनामा भने सबैभन्दा बढी सङ्घीय मामिला र अन्तर्गत परेको छ।

स्थानीय तहको निर्वाचनपछि विकास निर्माणका कामले तीव्रता पाउन थालेसँगै आर्थिक अनियमितता हुन जाने हुँदा उजूरी बढेको हुन सक्ने उपसचिव ढकालको भनाइ छ।

२०७५ कार्तिक १३ गते १५:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर