जन्मसिद्ध नागरिकताको हक अन्त्य गर्ने अमेरिकाको तयारी

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १३ गते १६:००

बीबीसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानको नागरिकतासम्बन्धी अधिकार अन्त्य गर्नेबारेमा सोचविचार गरिरहेको बताएका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार अवैध आप्रवासी र अस्थायी भिसा भएका आमाबाबुका सन्तानले अमेरिकामा जन्मेको आधारमा स्वतः अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने प्रावधान उनी अन्त्य गर्न चाहन्छन्।

एउटा समाचार वेबसाइटसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले कंग्रेसको अनुमोदनबिना नै एक कार्यकारी आदेश मार्फत त्यस्तो कदम चाल्न सकिने उनका सल्लाहकारहरूले आश्वस्त तुल्याएको बताएका छन्।तर राष्ट्रपतिले विधायिकाको अनुमोदनबिना आफ्नो एकल निर्णयले त्यस्तो कानुन परिवर्तन गर्न सक्छन् वा सक्दैनन् भन्ने स्पष्ट छैन।

संविधान संशोधन मार्फत सन् १८८६ देखि कायम रहेको जन्मसिद्ध नागरिकताको अधिकारसम्बन्धी प्रावधान उल्टाउन सक्ने अख्तियार राष्ट्रपतिसँग नरहेको धेरैजसो विज्ञहरूको विश्वास छ।

तर राष्ट्रपति आफ्नो योजनाअनुसार अघि बढेमा उनले त्यसप्रति कानुनी चुनौतीको सामना गर्नपर्ने हुनसक्छ। अमेरिकी संविधानअनुसार अमेरिकामा जन्मेका र अंगीकृत नागरिकता लिएका सबै मानिस अमेरिकी नागरिक हुन्।

आगामी हप्ता हुने मध्यावधि निर्वाचनको अगाडि जनमानसमा आप्रवासनसम्बन्धी डर उत्पन्न गराउने खालका प्रचारबाजीमा राष्ट्रपति लागेका भनी डेमोक्र्याट सिनेटर क्रिस कुन्सले उनको आलोचना गरेका छन्।

२०७५ कार्तिक १३ गते १६:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर