नेपाली सेनालाई समयसापेक्ष आधुनिकीकरण गरिने
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १४ गते १४:५५

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यलाई नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौँ तराई र मधेश द्रुतमार्ग आयोजना र नेपाली सेनाको सङ्गठन तथा नीति नियमका बारेमा अवगत गराइएको छ।
आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा नेपाली सेनासम्बन्धी समसामयिक विषयमा सम्बन्धित विभागका रथीहरुले प्रस्तुतीकरण गरेका थिए। उक्त अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको समेत उपस्थिति थियो।
उक्त अवसरमा नेपाली सेनालाई समयसापेक्ष आधुनिकीकरण र पेशागत व्यावसायीकरण गर्न अवलम्बन गर्नुपर्ने विषयमा छलफलसमेत भएको थियो।
कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ र रक्षामन्त्री पोखरेलले आ-आफ्नो मन्तव्य राख्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत मन्तव्य राखेका थिए।