स्तनपान कक्ष निर्माणबाट सुविधा
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १५ गते ७:१५

दाङ । तुलसीपुर उपमहानगरपालिकाले कार्यालय परिसरमै स्तनपान कक्ष स्थापना गरेसँगै उपमहानगरपालिकामा दुधे बालक लिएर सेवा लिन आउने महिला सेवाग्राही र कार्यालयमा रहेका महिला कर्मचारीलाई सुविधा भएको छ ।
अहिले दैनिक उपमहानगरपालिकामा सेवा लिन आउने सेवाग्राही र महिला कर्मचारी गरी ३५ देखि ४० जनाले स्तनपान कक्षमा गएर बालबालिकालाई दूध खुवाउने गरेको उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बताईन् ।
उपमहानगरपालिकामा सानो दुधे बच्चा लिएर बुधबार सेवा लिन आएकी तुलसीपुर–१२ क्वाङ्की तुलसा ओलीले स्तनपान कक्ष निर्माणले आफूजस्ता महिलालाई सजिलो भएको बताईन् । उनले भनिन्, “यसअघि दुई पटक बच्चा लिएर उपमहानगरपालिकामा आएकी थिएँ, बच्चा रोएको बेला यहाँ दूध नखुवाएर नजिकैको होटलभित्र गएर दूध खुवाएकी थिएँ । तर अहिले स्तनपान कक्ष निर्माण भएको रहेछ । यहीभित्र बसेर बच्चालाई दूध खुवाउन पाएकामा खुशी लाग्यो ।”
स्तनपान कक्ष निर्माणसँगै सानो बच्चा लिएर काममा आउनुपर्ने तर बच्चा रोएको बेला दूध खुवाउन नपाई असुरक्षित तरिकाले खुला रूपमा दूध खुवाउनुपर्ने बाध्यताको अहिले अन्त्य भएको उपमहानगरपालिकाका महिला कर्मचारी बताउँछन् । रु दुई लाखको लागतमा निर्माण गरिएको सो कक्षमा सुतेर बच्चालाई दूध खुवाउनका लागि पलङसहितको बेड, बस्नका लागि सोफा राखिएको छ । स्तनपान कक्ष स्थापनाले धेरै बालबालिका स्वस्थ हुनुका साथै आफूहरुको उपमहानगरपालिकालाई नमूना स्मार्टसिटीको रूपमा विकास गर्ने योजनालाई समेत थप मद्दत मिल्ने उपप्रमुख आचार्यको भनाइ छ । स्तनपान कक्षको गत भदौमा स्थापना गरिएको हो ।