तनहुँका दुई विद्यार्थीले बनाए ५० फिट उचाइसम्म उड्ने ड्रोन
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १५ गते १३:५०

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलगौँडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा अध्ययन गर्ने दुई विद्यार्थीले ड्रोन बनाएका छन्।
कक्षा ९ मा अध्ययनरत सफल सापकोटा र १० मा अध्ययनरत सञ्जोग सापकोटाले ड्रोन बनाएका हुन्। उनीहरु सहोदर दाजुभाइ हुन्।
युट्युबको सहाराले आफूहरुले ड्रोन बनाउन सफल भएको उनीहरुले बताए। बिदाको सदुपयोग गर्दै रु २० हजारको लागतमा ड्रोन तयार भएको सञ्जोगले बताए। बिदाको समयमा केही नयाँ प्रयोग गर्न रुचाउने सापकोटा दाजुभाइले घरपरिवारको सहयोगमा ड्रोन बनाउन सफल भएका हुन्।
“केही नयाँ प्रयोग गर्ने सिलसिलामा युट्युबमा ड्रोनको विषयमा खोजबिन गर्यौ र ड्रोन बनाउन सफल भयौँ”, उनले धने। सत्तरी ग्राम तौल रहेको ड्रोन करीब ५० फिट उचाइ र ५५ मिटर वरपरसम्म उड्न सक्ने उनले जानकारी दिए। ड्रोनमा रिसिभर, चार वटा गेर बक्स, चार वटा मोटर, एक ब्याट्री र क्यामरा जडान गरिएको छ।
सानै उमेरदेखि नै प्रविधितर्फ रुचि राख्ने सापकोटा दाजुभाइले रिमोट कन्ट्रोल, हाइड्रोलिक ट्रक, डोजर लगायतका सामग्रीसमेत निर्माण गरिसकेका छन्।
सापकोटा दाजुभाइले आफूले बनाएको ड्रोन विद्यालयमा समेत प्रदर्शन गरिसकेका छन्। विद्यालयका साथीभाइ, घरपरिवार र शिक्षकबाट पाएको हौसलाले आफूहरुलाई नयाँनयाँ प्रविधि निर्माणमा थप प्रेरणा मिलेको सापकोटाले बताए।