उत्तर कोरियाली नेता कीमको सिओल भ्रमण चाँडै: मून

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते १:२१

सिओल। दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता कीम जोङ अनले चाँडै सिओलको भ्रमण गर्ने बताएका छन्।

गत सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर बैठकका क्रममा उत्तर कोरियाली नेता कीमले चाँडै दक्षिण कोरियाको भ्रमण गर्ने सहमति भएको थियो। तर भ्रमणको समयका बारेमा निर्णय भएको थिएन।

तर दक्षिण कोरियाली राष्ट्रपति मूनले यसै वर्ष कीमले दक्षिण कोरिया भ्रमण गर्ने बताएका थिए। सांसदहरुको प्रश्नको बिहीबार जवाफ दिँदै मूनले शान्तिका लागि कोरियाली प्रायःद्वीप ऐतिहासिक मोडमा पुगेको बताए।

“उत्तर कोरियाली नेता कीम जोङ अनको रुस भ्रमण र चिनीया राष्ट्रपति सी जिनपिङको उत्तर कोरिया भ्रमण चाँडै हुँदैछ,” मूनले भने। उनले कीम र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच पनि भेटघाट हुने सम्भावना बढेको बताए।

राष्ट्रपति मूनले भने, “अध्यक्ष कीम जोङ अनको सिओल भ्रमण चाँडै हुनेछ ।” तर उहाँले भ्रमणबारे विस्तृत जानकारी दिनु भएन।

कुटनीतिक पहल निकै बाक्लो भइरहे पनि सिओल र वासिङ्टनबीच पछिल्ला समयमा मतभिन्नता देखिन थालेका छन्। दक्षिण कोरियाको मित्रशक्तिका रुपमा रहेको अमेरिकाले उत्तर कोरियाको चुनौती सामना गर्न दक्षिणमा करिब २८ हजार ५०० अमेरिकी सैनिक तैनाथ गरेको छ।

मून, कीम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा अमेरिका र उत्तर कोरियाबीच कोरियाली प्रायःद्वीपमा शान्ति स्थापना गर्न आणविक निःशस्त्रीकरण गर्नेसम्बन्धी सम्झौता भएको थियो। तर, यो सम्झौतापछि खासै प्रगति भएको छैन।

संयुक्तराज्य अमेरिकाले उत्तर कोरियामाथिका आर्थिक प्रतिबन्धहरु फुकुवा गरेको छैन। अमेरिकाले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको भरपर्दो र विश्वसनीय आधार प्रस्तुत नगरेको भन्दै निरन्तर दबाब दिइआएको छ। उत्तर कोरियाले आर्थिक प्रतिबन्ध तत्काल फुकुवा गर्न अमेरिका सहित अन्य मुलुकसँग आग्रह गरिरहेको छ।

अमेरिकी विदेश मन्त्रालयले यसैसाता सिओल र वासिङ्टनबीच समन्वयात्मक कार्यहरुलाई थप गति दिन नयाँ कार्यसमूह गठन गर्ने सहमति भएको जनाएको छ।

यसै महिना हुने अमेरिकी मध्यावधि चुनावपछि अमेरिका र उत्तर कोरियाबीच थप वार्ता र उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदैछन्।

२०७५ कार्तिक १६ गते १:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर