स्वदेशमै रोजगारका नाममा बढ्दो शोषण र ठगी

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते २:४७

निर्मला घिमिरे, काठमाडौं। नेपालमा आन्तरिक श्रम बजारमै पनि नेपाली कामदारहरु विभिन्न शिर्षकमा ठगीँदै आएका छन्। कलकारखाना, कार्यालय होस् वा घरेलु कामदारहरु कम्पनी मालिक वा रोजगारदाताबाट ठगीने वा शोषणमा पर्ने क्रम बढ्दो छ। त्यसैले अधिकांश मानिस भन्ने गर्छन्–नेपालमा परिश्रम गरेर खाने पनि वातावरण छैन।’

नेपालको आन्तरिक श्रम क्षेत्रको मामिलामा नेपाली कामदारको हक हित र सुरक्षाको लागि श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका थुप्रै विभाग तथा कार्यालय स्थापित छन्, तर पनि नेपाली श्रम बजारमा ठगी तथा शोषणका समस्या दिनानुदिन बढ्दै गइरहेका छन्।

नेपाली श्रम बजारमा कम्पनीले भनेजति तलब नदिने, समयमा तलब नदिने, सरकारले तोकेको पारिश्रमिक अनुसार तलब नदिने, बढी समय काम लगाउने, कामदारलाई दुव्र्यवहार गर्ने कामबाट आफूखुसी बिनाकारण हटाउने तथा घरेलु कामदारका हकमा कामदारले असुरक्षित महशुस गर्नुपर्ने, अझ महिला घरेलु कामदारको हकमा काम गर्ने घरकै मालिकबाट यौनशोषण लगायतका समस्या सम्बन्धी उजुरी श्रम विभागमा आउने गरेको बताउँछन् श्रम तथा व्यबसाय जन्य सुरक्षा विभागका प्रवक्ता ऋषिराम भुसाल।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता ऋषिराम भुसालले भने, ‘नेपाली कामदारको हकहितका लागि हामी दिनरात लागि परिरहेका छौँ।’ प्रवक्ता भुसालका अनुसार देशका विभिन्न ठाउँमा रोजगार सूचना केन्द्रहरु खुल्ने प्रकृया हुँदैछ त्यसपछि नेपाली कामदारले सहज र सुरक्षित आफ्नो सिप र क्षमता अनुसारको काम पाउने व्यबस्था हुँदैछ।

भुसालले थप देशका विभिन्न स्थानियतहहरुमा रोजगारकेन्द्र खुलेपछि नेपाली कामदार रोजगारका नाममा शोषण र ठगीको चपेटामा पर्ने समस्या निराकरण हुने दाबी गरे। उनका अनुसार महिला कामदार माथि हुने शोषण र बाल श्रमजस्ता क्षेत्रमा समेत विभागले काम गर्दै आइरहेको छ।

नेपाल सरकारले भने प्रत्येक नेपाली कामदारका हकमा लागू हुनेगरी यही आर्थिक वर्षदेखि १३ हजार ४ सय ५० रुपैयाँ न्युनतम पारिश्रमिक तोकेको थियो। तर सरकारले नेपाली कामदारको हकमा तोकेको पारिश्रमिक कागजमा मात्र सीमित भएको छ। अझैपनि नेपाली कामदार विभिन्न कलकारखाना र कार्यालयमा रु ४/५ हजार पारिश्रमिकमै कामगर्न बाध्य छन्।

आर्थिक वर्ष २०७४/०७५ मा मात्रै रोजगारका शिलशिलामा श्रमशोषणमा परेका तथा कम्पनी वा साहुले काम लगाएर तलब नदिएका जस्ता विभिन्न शिर्षकमा ठगीएका ३ सय ७७ नेपाली कामदारहरुले व्यक्तिगत उजुरी दिएको र ७७ वटा सामुहिक उजुरी परेको श्रम तथा व्यबसायजन्य सुरक्षा विभागको तथ्यांकमा उल्लेख छ।

स्वदेशमै नेपाली कामदारहरु विभिन्न शिर्षकमा ठगिँदै आइरहेका छन्। ठूलो संख्यामा बेरोजगारी समस्याको चपेटामा रहेका युवाहरुलाई विभिन्न कलकारखाना तथा कार्यालयका रोजगारदाताले नै समयमा तलब नदिने, ८ घण्टा भन्दाबढी समय काममा लगाएर समेत ओभरटाइमको थप पारिश्रमिक नदिने जस्ता समस्या नेपालमै थुप्रै छन्। तर पनि विभागमा उजुरीका लागि भने कम युवा मात्र पुग्ने गरेको बताउँछन विभागका प्रवक्ता भुसाल।

चालु आर्थिक वर्षमा समेत गत असोज महिना सम्मको तथ्यांक हेर्दा रोजगारका नाममा ठगिन तथा शोषणमा पर्नेहरुको संख्या बढ्दै गइरहेको देखिन्छ। गत वैशाख महिनादेखि गत असोज महिनासम्म २ हजार भन्दाबढी व्यक्तिगत उजुरी र ३ सय भन्दाबढी सामुहिक उजुरी परेको विभागको तथ्यांकमा उल्लेख छ।

थुप्रै नेपाली कामदार स्वदेशमै श्रमशोषणमा परिरहेका छन्। तर उनीहरु सबै उजुरीका लागि विभागसम्म नपुग्ने हुँदा विभागमा उजुरी दिने कामदारहरु को संख्यामात्र श्रमशोषण तथा रोजगारको नाममा ठगीमा पर्नेकामदारको वास्तविक संख्या भने होइन।

नेपालमै सुरक्षित छैनन् घरेलुकामदार

काठमाडौंमा भेटिएकी सर्लाही लालबन्दीकी पार्वती कार्की ९नामपरिवर्तन० घरायसी काम गर्छिन्। उनी एक दिनमा ५÷६ वटा घरमा सम्म कपडा धुने, भाडा माझ्ने, घर सफा गर्ने लगायतका काम गर्दै आएकी छिन्। उनका अनुसार उनले घरघरमा काम गरेबापत मासिक २० देखि ३० हजार सम्म कमाई गर्छिन्। पार्वती प्रष्टसँग बोल्न पनि सक्दिनन्। उनी कान समेत कम सुन्छिन्।

श्रीमान्ले छाडेपछि सर्लाहीबाट काठमाडौं आएकी उनी घरायसी काम गर्न जाँदा घरकै कति पुरुषबाट आफू असुरक्षित हुनुपरेको बताउँछिन्। ‘काम गरिरहेको बेलामा कार्यरत घरका मालिकहरुले अनावश्यक जिस्काउने, छुन आउने जस्ता हर्कतले कतिपय घरमा काम गर्न जानै छाडेँ,’ उनले भनिन्। पार्वती बसेकै घरमा नजिकै कोठामा बस्ने जानकी थापा ९नामपरिवर्तन० पनि पार्वती जस्तै घरायसी काममा जान्छिन्।

उनका श्रीमान् मलेशियामा छन्। श्रीमान् विदेशमा कमाउने भएपनि आफूखाली के बस्नु भनेर घरकै काम गर्न थालेको उनी बताउँछिन्। ‘दिनभरि काम गर्दा धेरैवटा घरमा भ्याउने हुँदा आम्दानी पनि झण्डै श्रीमान्ले विदेशमा गर्ने जति नै हुन्छ’, उनी भन्छिन्। परिश्रम अनुसार पारिश्रमिक पनि राम्रै भएको बताउने उनी घरायसी काम गर्दा त्यति सुरक्षित महशुस गर्न नसकेको बताउँछिन्।

उनी भन्छिन्, ‘घर भित्र पुरुष एक्लै भएको बेला काममा हुँदा डर हुन्छ। उनीहरुले भनेको मानेन भने हप्काउने समेत जर्बजस्ती नजिक आउने कोट्याउने, शरीर छुने जस्ता क्रियाकलापबाट दिक्क लाग्छ तर त्यस्ता घटना भएभने त्यो घरमा काम गर्न जानै छोडिदिन्छु।’

पार्वती र जानकी जस्ता थुप्रै घरेलु कामदारहरु यौन्जन्य शोषणमा पर्ने गरेका छन्। तर यिनीहरु जस्ता शोषणमा परेका महिला उजुरीका लागि विभागसम्म पुग्ने गरेको पाँइदैन। नेपालमा घरेलु कामदार यति नै छन् भन्ने कुनै तथ्यांक सरकारसँग छैन। अन्तर्राष्ट्रिय श्रमसंगठन (आइएलओ)को तथ्यांक अनुसार विश्वभर भण्डै ५करोड भन्दाबढी घरेलु श्रमिक रहेका छन्।

झूठा पर्चा र विज्ञापनबाट ठगी

आन्तरिक श्रमबजारमा कामदार आपूर्ति गर्न खुलेका विभिन्न रोजगारदाता कम्पनी वा संस्थाले समेत नेपाली कामदारलाई ठग्दै आइरहेका गुनासा सुनिने गरेका छन्। उनीहरुले विकराल संख्यामा बेरोजगार रहेका नेपाली युवालाई विभिन्न पदमा र विभिन्न कम्पनीमा काम लगाइदिने विभिन्न बाहानामा पैसा लिने र भाग्ने गरेका समस्या रहेको खुलेको छ ।

यस्ता संस्थाले पत्रिकामा विभिन्न कम्पनी वा संस्थाहरुमा विभिन्न पदमा रोजगारीका शिर्षकमा कामदार चाहिएको विज्ञापन प्रकाशित गर्ने वा पर्चा बाँड्ने तर एउटा काम देखाएर अर्को काममा लगाउने, धेरै तलब देखाएर थोरै तलब दिने, काममका लागि फारम भर्न लगाएर काम नदिइ भाग्ने जस्ता समस्या रहेको समेत खुलेको छ। यस्ता संस्थाले काम दिलाइदिने नाममा फारम भर्न लगाउने र प्रतिव्यक्ति ५ सय देखि हजारभन्दा बढीसम्म रकम असुल्ने र दर्ता नभएका त्यस्ता कम्पनीहरु सजिलै भाग्ने गरेको पीडितहरु बताउँछन्।

काठमाडौंमा भेटिएकी अन्दाजी २० वर्षकी दोलखा घर बताउने सरिता तामाङ यो भन्दा एकवर्ष अगाडि एक पत्रिकाको वर्गीकृत विज्ञापनमा प्रकाशित विज्ञापन पढेर मख्ख परिन्। उनका अनुसार त्यो विज्ञापनमा लेखिएको थियो कस्मेटिक पसलमा रोजगारको अबसर खाजा, गाडीभाडा र बोनस सहित १५ हजार रुपैयाँ मासिक तलब। त्यँहा उपलब्ध फोन नम्बरमा उनले जागिरका लागि फोन गरिन्। उनी फोन गरेर जाँदा ललितपुरमा फ्युचर गु्रप कम्पनीमा पुगिन् त्यहाँ विज्ञापन अनुसारकै तलब र अन्य सेवासुविधा अनुरुपको काम भएको बताएपछि ५ सय रुपैयाँ तिरेर फारम भरिन्।

सरिताले फारम भरेको केही दिनमा उनलाई त्यसकम्पनी बाट फोन आयो र स्युचटारको शाखामा जान भनियो। सरिता स्युचटार पुगेपछि उनलाई थाहा भयो काम कस्मेटिक पसलमा नभएर उपत्यका बाहिर मार्केटिङ कामको लागि जानुपर्ने रहेछ। उनी कलेज पढ्दै काम गर्दै गर्ने भएकोले उपत्यका बाहिर कामको लागि जान नसक्ने बताएपछि उनले काम पनि पाइनन्। उनको फारम भरेको ५ सय रुपैयाँ पनि गुम्यो। सरिताका अनुसार उनी सँगै यसरी फारम भर्ने र भनेको भन्दा फरक काम भएपछि पाँचसय गुमाउने धेरै युवाहरु थिए।

यसरी देशमै रोजगारीको नाममा एउटा काम भनेर अर्को काम लगाउने र ठग्ने प्रवृति बढिरहेको पाइन्छ। थोरै रकम ठगिएका उजुरी गर्न विभाग सम्म नपुग्ने विभागका प्रवक्ता ऋषिराम भुसाल बताउँछन्। यस्ता संस्थाले एक जना बराबर लिने रकम थोरै भएपनि सयौँ जना युवासँग लिँदा निकै ठूलो रकम नै ठगेर फरार हुन्छन्। सरकारले यस्ता ठग संस्थालाई अनुगमन गरेर कारबाही गर्न भने सकेको छैन।

२०७५ कार्तिक १६ गते २:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर