सरकारले उत्पादन सुरु भइसक्दा पनि होङ्सी शिवम् सिमेण्टसँग गरेको सम्झौता पूरा गरेन
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १६ गते ७:०४

काठमाडौं। सरकारले होङ्सी शिवम् सिमेण्ट उद्योगसँग गरेको सम्झौता उत्पादन सुरु भइसक्दा पनि पूरा गर्न सकेको छैन। बैदेशिक लगानी भित्र्याउने ठूलो महत्वकाँक्षा सरकारले बोकेको भएपनि लगानी सम्झौता भई उत्पादन नै सुरु गरिसकेको नवलपरासीको सर्दीखोलास्थित होङ्सी शिवम् सिमेण्ट उद्योगसँगको भौतिक संरचना निर्माण सम्बन्धी सम्झौता अझै पूरा गरेको छैन।
नेपालमा संचालन भएका सिमेण्ट उद्योगमध्ये यो उद्योग सबै भन्दा ठूलो लगानीको र स्वचालित रुपमा सिमेण्ट उत्पादन गर्ने उद्योग हो। यहाँ सिमेण्ट उत्पादनका सम्पूर्ण प्रक्रिया पूर्णप्रविधि (फुल अटोमेटिक) प्रणालीबाट गरिन्छ।
वैदेशिक लगानी स्वीकृत गर्दाको समयमा सरकारले यो उद्योगसँगको विद्युत् प्रशारण लाईन २४ महिना भित्र बनाई दिने र मुख्य राजमार्गदेखि उद्योग र उद्योगदेखि खानीसम्मको बाटो पीच गर्ने सहमति गरेको थियो। तर यी दुवै काम अहिलेसम्म हुन सकेका छैनन्। विद्युत् प्रशारण लाईन नबन्दा उत्पादन लागत बढेको कम्पनीको गुनासो छ। सक्दो छिटो सरकारले विद्युत् प्रशारण लाईन र बाटोको काम सम्पन्न गरेमा उत्पादन लागत कम हुने कम्पनीको भनाइ छ।
सरकारले मुख्य राजमार्गदेखि कम्पनीसम्मको १२ किलोमिटर र खानीसम्म पुग्ने २८ किलोमिटर सडक पीच गरिदिने सहमति गरेको थियो। पूर्व–पश्चिम राजमार्गको नवलपरासीको दुम्कीबासदेखि उद्योगसम्म १२ किलोमिटर र उद्योगदेखि २८ किलोमिटरको दूरीमा पाल्पाको भुकेटमा चुनखानी रहेको छ।
खानीभएको स्थानको मगर बस्तीलाई उद्योगले सर्दीबगैचा नजिक वेनी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ४ मा सारिएको छ। उद्योगले त्यहा स्थित २६ परिवारलाई सो स्थानमा घर घडेरीसहित समान क्षेत्रफलको जग्गा उपलब्ध गराएको हो। उद्योगले सबै परिवारलाई प्रतिपरिवार ४ कोठे पक्की ढलान घर उपलब्ध गराएको छ। उद्योगको व्यवस्थापनबाट विस्थापित सन्तुष्ट देखिन्छन्।
३६ अर्बको लगानीमा निर्माण गरिएको यस उद्योगले धुँवा धुलो कम गर्दै हरियाली वातावरण निर्माणका लागि मात्रै ठूलो बजेट खर्च गरेको छ। ७६ हेक्टर क्षेत्रफलमा फैलिएको सो उद्योगले प्रविधिबाट नै प्रदुषण कम गरिरहेको छ। कम्पनीका अनुसार वातावरण बिग्रन नदिन ग्रिन बजेट शिर्षकमा ३ अर्ब रुपैयाँ प्रविधिका लागि मात्रै खर्च गरिएको छ।
उद्योगले सिमेण्ट उत्पादन हुँदा उत्पन्न हुने धुलोबाट बिजुली उत्पादन गरेको छ। उद्योगमा चिनिया कम्पनी होङ्सी होल्डिङले ७० र नेपालको शिवम् सिमेन्टले ३० प्रतिशत लगानी रहेको छ। उद्योगले हाल दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ। पूर्ण क्षमतामा उत्पादन सुरु गर्ने हो भने दैनिक १२ हजार मेट्रिक टन सिमेण्ट उत्पादन हुने उद्योगले जनाएको छ। धुँवा धुलो रहित अत्याधुनिक प्रविधियुक्त ठूलो लगानीको यस कम्पनीसँगको भौतिक पुर्वाधार निर्माण सम्बन्धी सम्झौता समयमै पूरा हुन नसक्नुले थप बैदेशिक लगानीलाई निरुत्साहित गर्ने देखिन्छ।