एकै क्षेत्रमा धेरै गैँडा हुँदा कालगतिले बढी मरे
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १६ गते ७:५६

चितवन । सानो ठाउँमा धेरै एकसिङ्गे गैँडा रहँदा पछिल्ला वर्षमा कालगतिबाट यहाँ गैँडा मर्ने क्रम बढेर गएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढेसँगै एक आपसमा जुधेर, एकले अर्कोलाई हानेर, लखेटेर दलदलमा फसाएर गैँडा मर्ने क्रम बढेको हो ।
चोरी शिकारलाई झण्डै शून्यमा झरेको भए पनि वर्षेनी २५÷२६ वटा गैँडा कालगतिबाट मर्न थालेपछि कारणको खोजी गर्न थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कालगतिबाट अर्नाको मृत्युको कारण खोजी गर्न बनाएको समितिले काम भने थालेको छैन ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार सन् २०१५ मा गैँडा गणना भएयता हालसम्म ७९ गैँडा कालगतिले मरेका छन् । आव २०७२÷७३ मा १५, आव २०७३÷७४ मा २५, आव २०७४÷७५ मा २६ र यस आर्थिक वर्षमा १३ वटा गैँडा कालगतिले मरेका छन् ।
यसै क्रममा २०७२ वैशाखमा एउटा गैँडा चोरी शिकारीले मारेका थिए । ढकालका अनुसार सानो ठाउँमा धेरै गैँडा रहेका कारण कालगतिबाट धेरै मरेको देखिन्छ । निकुञ्जको पूर्व क्षेत्रमा गैँडाको सङ्ख्या केही कम रहेको छ । धेरै गैँडा रहेका पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा गैँडा सार्न सकिएमा कालगतिबाट मर्नेको सङ्ख्या घटाउन सकिने उनले बताए।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार सन् २०१५ मा गरिएको गणनामा नेपालमा ६४५ गैँडा भेटिएकामा सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६०५ रहेका थिए । यसैवर्ष पुनः गैँडा गणना गरिँदै छ । त्यसपश्चात् चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लामा पाँच र बर्दियामा तीन गैँडा स्थानान्तरण गरिएको छ ।
चितवनबाटै चीन सरकारलाई चार गैँडा उपहार दिइएको छ । अर्यालले बुढो भएर, बच्चा जन्माउन नसकेर, भाले लाग्ने समयमा भालेले पोथीलाई हानेर पनि गैँडा मर्ने गरेको बताए । गैँडाको आयु ४० वर्षको हुने गर्दछ । गैँडाको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुमा पनि सजिलै गैँडा देख्न सकिन्छ । मध्यवर्ती आसपासका बस्तीमा गैँडा पस्ने समस्या समेत बढ्दै गएको छ ।