गाउँभरि मखमली र सयपत्री फूलले भक्तपुर बन्यो राताम्मे
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १६ गते १३:२१

भक्तपुर । तिहार नजिकिँदै छ, भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन्। व्यावसायिकरुपमा गरिएको सयपत्री र मखमली फूल फुलेर गाउँ ढकमक्क हुँदा गाउँ नै राताम्मे बनेको छ, यसले तिहारको झल्को दिइरहेको छ।
जिल्लामा फूलखेती गरिएका गाउँघर र टोलटोलका आँगनदेखि बारीमा समेत लहरै मखमली र सयपत्री फूल लटरम्म फूले पछि यहाँका अधिकांश गाउँ राताम्मे बनेका हुन्।
भक्तपुरको सबैभन्दा बढी फूलखेती हुने जिल्लाको दक्षिणी भेगको गुण्डुका घरघर र टोलटोल यतिखेर राताम्मे बनेका छन् भने फूल टिप्न र माला गाँसेर बजार पुर्याउनसमेत भ्याइनभ्याइ हुन थालेको छ।
मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसान अहिले यसतर्फ आकर्षित भएको गुण्डु गाविस स्थानीय बासिन्दा एवं जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले बताए।
धानखेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि खेतमा, खेतको आली, डिलमा र मकैसँगै बारीमा फूलखेती गर्ने गरिएको छ। एकै पटक दोहोरो आम्दानी हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो।
जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ भने फूल बिग्रिएन भने एक सिजनमा एक रोपनी जग्गाबाट रु ७० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिन्छ।
सूर्यविनायक नगरपालिकाले यस वर्ष स्थानीयलाई व्यावसायिक फूलखेती गर्न लगानी मात्रै गरेन, फूलको बीउसमेत वितरण गर्यो। सामूहिक फूलखेती गर्ने किसानलाई प्रोत्साहन दिने उद्देश्यले नगरपालिकाले गुण्डुका किसानलाई तीन हजार फूलका निःशुल्क बिरुवा वितरण गरेको थियो।
नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकालाई फूल उत्पादनको मुख्य स्रोतका रुपमा विकास गर्दै आयआर्जनको केन्द्र बनाइने र किसानलाई व्यावसायिक फूलखेतीमा आकर्षित गरी विदेशबाट आयात हुने फूललाई कम गर्न टेवा पुर्याउने लक्ष्यका साथ अनुदान वितरण गरेको बताए।
फूलखेतीको राजधानीका रुपमा परिचित सूर्यविनायक नगरपालिका–७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले गुण्डुबाट मात्रै तिहारमा काठमाडौँ उपत्यका, उपत्यका बाहिर र विदेशका अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, हङकङलगायतका विभिन्न देशमा करोडौँको फूल तथा माला निर्यात गर्ने गरेको बताए।