काठमाडौँमा झन् चुनौतीपूर्ण बन्दै ट्राफिक व्यवस्थापन, ११ लाख बढी सवारी

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १७ गते १३:०७

काठमाडौँ । काठमाडौँ उपत्यकामा ११ लाख सवारीसाधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको उच्च ट्राफिक प्रहरी अधिकारीको भनाइ छ।

विशेषगरी देशका अन्य १३ अञ्चलमा दर्ता भएका २० लाखभन्दा बढी गाडीको चापसमेत राजधानीमा परेकाले व्यवस्थापकीय पक्ष कठिन बनेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त बताउँछन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा मुलुकभर ३२ लाख २१ हजार ४२ सवारीसाधन दर्ता भएका छन्।

तीमध्ये वाग्मती अञ्चलमा मात्रै ११ लाख ७२ हजार ४१३ सवारीसाधन दर्ता भएको छ। मुलुकभर दर्ता भएकामध्ये ३६ दशमलव ४० प्रतिशत सवारीसाधन वाग्मतीमा गुड्ने गर्छ। महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक पन्तले वाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनमध्ये ९७ प्रतिशत निजी सवारी रहेको बताए।

बाग्मतीमा दर्ता भएका गाडीमध्ये ९० प्रतिशत उपत्यकामा गुड्दा ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण हुने गरेको उनी बताउँछन्। वाग्मतीमा दर्ता भएका सवारीसाधनमध्ये ९ लाख २१ हजारभन्दा बढी मोटरसाइकल मात्रै छ। बस र ट्रक ४८ हजार २४२, पावर टिलर र डोजरको संख्या १३ हजार ५५३ छ। यसैगरी कार र जीपको संख्या एक लाख ४२ हजार ३३१ छ भने टेम्पो र माईक्रोबस ६ हजार ३३० दर्ता भएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला समयमा अत्याधिक रुपमा निजी सवारी भित्रिएको र देशका ७७ वटै जिल्लाबाट गाडी काठमाडौँमा आउने र बाहिर दर्ता भएका सवारीसाधन समेत काठमाडौँमै चल्ने हुँदा ट्राफिक व्यवस्थापन थप जटिल बन्ने गरेको छ।

सडक विभागको तथ्याङ्कमा उपत्यकाको सडक दुई हजार १४ किलोमिटर छ। एक लेनको ६६० किमी, दुई लेन २३९ किमी र चार लेनको सडक १९३ किमी छ। उपत्यकामा एक जना ट्राफिक प्रहरीले औषत ८१४ वटा सवारीसाधन व्यवस्थापन गर्नुपर्ने हुन्छ। यसैगरी एक जना ट्राफिक प्रहरीले एक दशमलव ५ किमी सडकको ट्राफिक व्यवस्थापन गर्नुपर्ने अबस्था रहेको प्रहरी वरिष्ठ उपरीक्षक पन्त बताउँछन्।

काठमाडौँ उपत्यकामा दैनिक करिव १० लाख सवारी गुड्छन्। ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा एक हजार ४०० ट्राफिक प्रहरीले काम गर्दै आएका छन्। ट्राफिक व्यवस्थापनमा प्रविधियुक्त नगरेसम्म प्रभावकारी हुन नसक्ने निष्कर्ष प्रहरीको छ। उपत्यकामा विभिन्न पूर्वाधार निर्माण तथा खाल्डाखुल्डीका कारण सडकको अबस्था कमजोर छ भने सबै क्षेत्रमा आकासे पुल बन्न सकेको छैन।

व्यक्ति सडकबाट हिंड्ने अबस्था हटाउन सकिएको छैन। ट्राफिक संकेतहरुको समेत अभाव छ। पुलमुनी सडक खोल्न सकिएको छैन । फुटपाथ, खाल्डाखुल्डी र पोल व्यवस्थापन हुन नसक्दा ट्राफिक व्यवस्थापन हम्मेहम्मे पर्छ।

निजी सवारी दिनप्रतिदिन बढ्दै गएको र तीन पाङग्रे सवारीको प्रयोग, आधुनिक प्रविधिको कमी तथा नागढुंगा, कोटेश्वरमा प्रहरीले नै अभिलेख राख्नुपर्ने अबस्थाले जाम बढ्दो रहेको प्रहरीको निष्कर्ष छ। पार्किङको अभाव, मोटर ग्यारेजलाई व्यवस्थापन गर्न नसक्नु, चक्रपथ बाहिर पार्किङको व्यवस्था गर्न नसक्नुले चुनौती कायमै छ। ट्राफिक ज्ञानको कमी र व्यक्ति कै धारणामा परिवर्तन हुन नसकेकाले ट्राफिक शिक्षालाई विद्यालय तहबाटै जोड्नुपर्ने माग प्रहरीको छ।

“यहाँ ६० वटा गाडी ल्याउनु र ६० जना बोक्ने एउटा गाडी ल्याउनुमा निक्कै फरक पर्छ,” प्रहरी वरिष्ठ उपरीक्षक पन्तले भने, “यसतर्फ ध्यान जानुपर्छ ।” स्मार्ट लाईट, सिसी टिभीको व्यवस्था, डिजिटल अभिलेख प्रणाली, जिपिएसको प्रयोग र ट्राफिक चिल्ड्रेन पार्क बनाउन सके ट्राफिक व्यवस्थापन सहज हुने अनुमान प्रहरीको छ।

नीजि तथा साना एवं पुराना र तीन पाङ्ग्रे सवारीलाई निरुत्साहित गर्नेतर्फ ध्यान दिनुपर्ने प्रहरीले ठम्याई छ। उक्त विषयसमेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत ट्राफिक प्रहरीले प्रतिवेदन बुझाएको छ। नेपालमा विसं १९५८ सालमा राणा प्रधानमन्त्री वस्र शमशेरको पालामा पहिलोपटक कार भित्रिएको थियो। त्यसबेला रामदलबाट ट्राफिक नियन्त्रणको काम थालिएको थियो। विसं २०५९ मा बल्ल आएर उपत्यकाको १० स्थानबाट ट्राफिक बत्तीको व्यवस्था शुरु गरिएको थियो।

२०७५ कार्तिक १७ गते १३:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर