डलर महंगो हुँदा नेपाललाई कस्तो असर?
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १७ गते १३:१३

काठमाडौं । नेपाली मुद्राको तुलनामा केही महिनायता बलियो हुँदै गएको डलरको प्रभाव देशको सोधनान्तर अवस्थामा समेत देखा पर्न थालेको अधिकारीहरूले बताएका छन्।
डलर महँगो भएसँगै विप्रेषण आप्रवाह बढे पनि यसले उपभोग बढाएर व्यापार घाटा थप चुलिएकोले समेत सोधनान्तर घाटा कम हुन नसकेको उनीहरू बताउँछन्।
स्वदेशमै उत्पादन बढाउने वातावरण नबनेसम्म अहिले देखिएको समस्या हल नहुने कतिपय अर्थशास्त्रीको तर्क छ।
यस आर्थिक वर्षको पहिलो दुई महिनामा सोधनान्तर घाटा करिब २५ अर्ब पुगेको छ।
कारण
अघिल्लो वर्ष यही समयमा यस्तो घाटा झण्डै ६ अर्ब रुपैयाँ मात्र थियो।
सोधनान्तर घाटा बढ्नुको कारणबारे राष्ट्र ब्याङ्कका एकजना कार्यकारी निर्देशक नरबहादुर थापाले भने, ‘नेपाली रुपैयाँ कमजोर भयो। यस्तै सवारीसाधन, सुन र खाद्य वस्तुको आयात निकै बढेको छ। त्यसको प्रभाव आयातमा पनि पारेकोले सोधनान्तर घाटा बढेको हो।’
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा ३३ प्रतिशत विप्रेषण आप्रवाह बढेको छ।
यही अवधिमा करिब २ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने १५ अर्ब रुपैयाँ हाराहारीको निर्यात भएको छ।
शुक्रवारको विदेशी विनिमयदर अनुसार एक अमेरिकी डलर बराबर ११७ रुपैयाँ ८३ पैसा रहेको छ।
लगानी
कतिपय अर्शास्त्री भने सोधनान्तर घाटा बढ्नुको कारण डलर महँगो हुनु मात्र नरहेको बताउँछन्।
त्यस्तैमध्येका एक पोषराज पाण्डे भन्छन्, ‘गत वर्षको तुलनामा यसवर्ष ७० प्रतिशत जति प्रत्यक्ष वैदेशिक लगानी आएको छैन। अहिलेको व्यापार घाटाको अवस्था सुधार्न निर्यात बढाउनुपर्छ र त्यसका लागि लगानी गर्ने वातावरण बनाउनुपर्छ।’
‘तर विश्व ब्याङ्कले हालै सार्वजनिक गरेको डुइङ बिजनेज प्रतिवेदनले यो पहिलाको भन्दा झनै खस्किएको भनेर देखाएको छ।’
सोधनान्तर घाटा बढ्दै गए पनि अझै आठ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति देशको ढुकुटीमा रहेको केन्द्रीय ब्याङ्कले जनाएको छ।
तर निकट भविष्यभित्र स्वदेशमै उत्पादन बढाएर व्यापार घाटा कम गर्न सकिएन भने यसले अर्थन्त्रमा थप चाप पार्ने अर्थविद्हरूले बताएका छन्। (बीबीसीबाट)