प्रचण्डले भने, नेकपाबाट मात्रै समृद्धि सम्भव छैन्

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १७ गते १४:१०

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको समृद्धि नेकपाबाट मात्रै सम्भव रहेको बताए।व्यक्तिगत स्वार्थलाई कुल्चिएर जनताको हित र राष्ट्रिय एकतालाई ध्यानमा राखेर पार्टी एकताको सङ्कल्प गरेको बताउँदै उनले अब विकास र समृद्धिको नेतृत्व गर्ने बताए।

नेकपा रुपन्देहीले आज बुटवलमा आयोजना गरेको शुभकामना तथा सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकता प्रक्रियालाई तल्लो तहसम्म व्यवस्थित गर्दा केही ढिलाइ भए पनि अब छिट्टै एकता प्रक्रियाको टुङ्गो लाग्ने बताए।

अध्यक्ष दाहालले पार्टी एकतापछि नेकपाको एउटै उद्देश्य देश र जनताको समृद्धि भएको बताउँदै अबको दशक विकास निर्माणमा क्रान्ति र समृद्धिको दशक भएको बताए।

“पार्टी एकतापछि असोज ३ सम्म विभिन्न ऐन बनाउन लाग्यौँ, अब सरकारलाई आरोप लगाउने ठाउँ छैन”, उनले भने, “खाल्डाखुल्डी पुरेको तुरुन्तै देखिन्छ तर ऐन कानून बनेको देखिँदैन।” अध्यक्ष दाहालले मुलुक सङ्घीय संरचनामा जाँदा सरकारलाई काम गर्न अप्ठ्यारो भए पनि उल्लेख्य काम भएको दाबी गरे।

पार्टी एकताका विरुद्धमा प्रतिक्रियावादीले गलत प्रचार गरे पनि त्यसका पछाडि नलाग्न आग्रह गरे। विगतमा जनयुद्धकालमा केही कमजोरी भए पनि त्यसलाई सच्चाएर अघि बढ्दा केही समय लागेको बताउँदै उनले भने, “सकेसम्म गल्ती नगर्ने भइहाले सच्याएर अघि बढ्ने क्षमता कम्युनिष्टमा मात्रै हुन्छ।”

राजनीतिक नेतृत्व सङ्घीयता कार्यान्वयनमा लागे पनि कर्मचारीतन्त्रले अझै नबुझेका कारण समस्या भएको बताए। अध्यक्ष दाहालले सुन्दर र सभ्य नेपाल निर्माणमा साथ दिन कार्यकर्तालाई आह्वान गरे। कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ ढङ्गको पाठशाला बनेको बताए।

कम्युनिष्ट आन्दोलनलाई नबुझी विश्वको राजनीति बुझ्न नसकिने भन्दै उनले दुई पार्टीबीचको एकता उदाहरणीय भएको बताए। महासचिव पौडेलले भने, “दुई पार्टी कहिल्यै मिल्न सक्दैनन् भन्ने भ्रम धेरैमा थियो एमाले र माओवादीलाई नदीका दुई किनारा भनियो, आज नदीका दुई किनारा नभई एउटै नदी भएका छौँ।”

पार्टी एकता भए पनि जनताप्रतिको जिम्मेवारी अझै पूरा नभएको बताउँदै उनले विभेद, उत्पीडन, वर्गीय शोषण समाप्त पार्नकै लागि एकता गरिएको बताए । पार्टी एकता बलियो धागोमा उनिएको एकता भएको उनको भनाइ छ। महासचिव पौडेलले नेकपा नेतृत्वको सरकार समृद्ध नेपालको अभिभारा पूरा गर्नतर्फ अग्रसर रहेको बताए।

उनले एउटा विद्यार्थीले एक वर्ष पढेर जाँच दिएपछि मात्रै पास वा फेल भन्ने नतिजा आउने भएकाले अहिल्यै सरकारका कामको मूल्याङ्कन गर्ने समय नभएको बताए। कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार समृद्धि र विकासको एजेण्डालाई विश्वासमा बदल्ने प्रयासमा रहेको बताए।

एउटा व्यवस्था परिवर्तनको प्रक्रियाबाट अगाडि बढ्दै गर्दा केही अन्योलता देखिए पनि जनताको चाहना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। मुख्यमन्त्री पोखरेलले प्रदेश ५ लाई नमूना प्रदेशका रुपमा विकास गर्ने बताए।

सभामा पार्टी स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, सङ्घीय सरकारका कृषिमन्त्री चक्रपाणि खनाल, प्रदेश अध्यक्ष ओनसरी घर्ती, जिल्ला नेता शिवलाल सुवेदी, अनुप बराल, निर्मल जिसीलगायतका नेताले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न सरकार लागिपरेको बताएका थिए।

२०७५ कार्तिक १७ गते १४:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर