मलेशियामा नेपाली श्रमिकमाथि व्यापक धरपकड, सयौं गिरफ्तार
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १७ गते १६:१५

क्वाललम्पुर । मलेशिया प्रहरीले मलेशियामा नेपाली कामदारमाथि शनिबार अबेर व्यापक धरपकड गरेको छ ।
मलेशियास्थित डिसी नेपाल सहकर्मी एसके दाहाल शर्माका अनुसार मलेशियाको पेनाङको बुटिक जाम्बुल भन्ने स्थानमा मलेशियान अध्यागम विभागले शनिबार छापा हानेको छ ।
अध्यागमन विभागले नेपाली लगायत विदेश कामदार सो स्थानमा छापा हानेर सयौंलाई गिरफ्तार समेत गरेको छ ।
पक्राउ पर्नेमा कति नेपाली छन् भन्ने विषयमा पूर्ण विवरण आएको छैन । मलेशियास्थित सहकर्मी एसके शर्मा दाहालले आफूमाथि पनि सोधपुछ गरिएको बताएका छन् ।
समाचारअनुसार अध्यागमनले वैध र अवैध कामदारलाई एकै ठाउँमा राखेर सोधपुछ गर्नुका साथै गिरफ्तार गरेको छ । नेपालीहरु पनि ठूलो संख्यामा गिरफ्तार भएको अनुमान गरिएको छ । अन्य मुलुकका कामदार पनि पक्राउ परेका छन् ।
हालै नेपाल सरकार र मलेशियाबीच श्रम समझादारीसमेत भएको छ । सो समझदारी कार्यान्वयनको चरणमा छ । गत जेठ २ गतेबाट नेपाल सरकारले मलेशिया जाने कामदारमा प्रतिवन्ध लगाउपछि त्यसयता नेपाली कामदार मलेशिया गएका छैनन् ।
तर, करिब १७ वर्षदेखि मलेशियामा कामदार गइरहेका थिए । मलेशिमा करिब साढे तीन लाख नेपाली वैध कामदार रहेको अनुमान छ । त्यहाँ केही अवैध नेपाली कामदार पनि रहेको बताइन्छ । तर, अवैध नेपाली कामदारको संख्या भने यकिन भएको छैन ।
नेपाल र मलेशियाको मौसम एकरुपको हुनुका साथै खुला सामाजिक व्यवहार हुने भएकाले अन्य खाडी मुलुकभन्दा मलेशिया नेपालीका लागि आकर्षक रोजगार गन्तव्य हो ।
तर, पछिल्ला वर्षहरुमा मलेशियामा नेपालीहरु असुरक्षित बन्दै गएको मलेशिया जानेहरु बताउँछन् ।