सलहेश फूलबारी गन्तव्य सूचीमा परेपछि सिरहावासीमा विकासको आशा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १८ गते ७:५६

राजु विश्वकर्मा

लहान । पर्यटकीय क्षेत्र विस्तार गर्ने सिलसिलामा सरकारले नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा पारेपछि सिरहाको लहान नगरपालिकाको पडरियास्थित सलहेश फूलबारीले जिल्लाकै विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

सिरहाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको सलहेश फूलबारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेपछि स्थानीय बासिन्दा उत्साहित भएका हुन् ।

प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गते मात्र फुल्ने फूलको दर्शन गर्न सलहेश फूलबारीमा ठुलो मेला लाग्ने गर्दछ । फूलबारीमा रहेको हारमको बोटमा वैशाख १ गतेका दिन मात्र अनौठो फूल फुल्ने र सोही दिनको साँझपख सो फूल ओइलाउने गर्छ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले नयाँ पर्यटकीय गन्तव्यहरु पहिचान गरेको हो ।

सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान बजारदेखि पाँच किलोमिटर पश्चिम पूर्व–पश्चिम राजमार्गमा पर्ने राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट हजारौं दर्शनार्थीहरु आउने गरेका छन् ।

राजा सलहेश र उहाँकी पे्रमिका मालिनीको पे्रम प्रतीकका रुपमा करीब १० विघाको प्राचीन फूलबारीको दुई वटा रुखको मध्य भागमा प्रत्येक वर्षको वैशाख १ गते एक जोडी माला देखिने गर्दछ । ती फूलका माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणको घुँइचो लाग्ने गर्छ ।

सलहेश फूलबारीको संरक्षण र मेलाको उचित व्यवस्थापन गर्न कुनै पहल नभएको गुनासो उठिरहेका बेला सरकारले सलहेश फूलबारीलाई नयाँ पर्यटकीय गन्तव्यहरुको सूची समावेश गरेपछि स्थानीयवासी खुशी भएका छन् ।

ढिलै भए पनि सरकारले सलहेश फूलबारीलाई पर्यटकीय क्षेत्रको रुपमा मान्यता दिएपछि जिल्लाकै समग्र विकास हुने विश्वास बढेको स्थानीयवासी तथा पडरिया गाविसका पूर्वअध्यक्ष मागैन कामैत बताउछन् ।

सलहेश तराईका पासवान जापितको इष्टदेव रहेको र ते¥हौं शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्त हुने, चर्म रोग, कुष्ठ रोग लगायतका ब्याधि हरण हुने जनविश्वास समेत रहेको छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटीहरु खोज्न भारतको विहार, पश्चिम बङ्गाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौंको सङख्यामा मानिस आउने गर्दछन् ।

सलहेश र मालिनीबीच प्रगाढ पे्रम सम्बन्ध रहेको र पे्रम सफल नहुँदा मालिनीले सलहेशको प्रतीक्षा गर्दै वैशाख १ गते फूलको माला लिएर देखापर्ने गरेको जनविश्वास रहिआएको छ ।

फूलबारीको मध्यभागमा रहेको मालिनी मन्दिरको दक्षिणतिर टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।

हरेक नयाँ वर्षको दिन फुल्ने यो फूललाई राजा जयबद्र्धन सलहेश र दौना मालिनीको पे्रम प्रतीकका रुपमा लिइने गरिएको मन्दिरका पुजारी वीरदेव धामी बताउछन् । यही अवसरमा युवायुवती उक्त फूललाई साक्षी राखी प्रणय सूत्रमा समेत बाँधिने गर्दछन् ।

बा¥ह बिघा क्षेत्रफलमा फैलिएको उक्त फूलबारीमा चारैतिर मूल फुटेर पानी बगिरहेको हुन्छ । फूलबारीमा प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफैं उत्पन्न हुने गर्छ । यति मात्र हैन भाकल गर्ने जोसुकैको मनोकामना पनि पूरा हुने विश्वास रहेकाले भारतीय भक्तजनहरुसमेत आउने गरेका छन् । मेलामा आउने लाखौं भक्तजनमध्ये तीस प्रतिशत भारतीय हुने गरेका छन् ।

सलहेश फूलबारीमा हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी रहेका छन् । यस फूलबारीको शीतल जल ग्रहण गरेपछि क्रोध शान्त हुने गरेको जानकारहरु बताउँछन् ।

यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्न सलहेश फूलबारीको पानी प्रयोग गरिनाका साथै माहामारी आउँदा पनि सलहेश फूलबारीको पानी औषधि मानेर खाने चलन छ ।

सलहेश फूलबारीको मन्दिर दर्शन गरेर पाएका सन्तानको मुण्डन गराउन निःसन्तान महिला यहाँ आउने गरेका छन् ।
सिरहाभित्र पूर्व कणाटकालीन अवशेषहरु रहेका छन् । राजा सलहेश दुषाद जातिका कूलदेवता भए पनि सबै जातजातिका लागि त्यतिकै पूजनीय र सम्मानयोग्य रहेको इतिहासविद् हरिकान्त लाल दास बताउछन् ।

२०७५ कार्तिक १८ गते ७:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर