शान्ति प्रक्रियामा तुलाधरको भूमिका स्मरणीय : अध्यक्ष प्रचण्ड
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १८ गते १२:४६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको शान्ति प्रक्रियामा उहाँको योगदान स्मरणीय रहेको बताएका छछन्।
आज अपराह्न दिवङ्गत भएका तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले भने, “नेपालको शान्ति प्रक्रियामा उहाँले यस्तो समन्वयकारी भूमिका निर्वाह गर्नुभयो, जसले साँच्चै नै नयाँ राजनीतिक वातावरण बनाउन महत्वपूर्ण योगदान गर्नुभयो ।”
नेपालको राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रजका रुपमा स्वर्गीय तुलाधरलाई सम्झँदै उनले मानवाधिकार संरक्षणको क्षेत्रमा पनि उनले गरेको योगदानलाई नेपालीले सधैँ सम्झिरहने बताए।
यसैबीच तुलाधरका परिवारसँगको कुराकानीमा उनले राष्ट्रिय सम्मानका साथ उनको अन्त्यष्टि गर्न पहल गरिने बताए। नेकपाका अर्का नेता अमिक शेरचनले तुलाधर मानवाधिकार र राजनीतिक अधिकारको अगुवा रहेको भन्दै उनले राष्ट्रलाई दिएको योगदान अविस्मरणीय रहेको प्रतिक्रिया दिए।
यसअघि नर्भिक अस्पतालमा श्रद्धाञ्जलिका लागि पुगेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका बिर्सन नसकिने उल्लेख गरे।