इटालीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १८ गते १५:११

रोम, इटाली । इटालीको दक्षिणी शहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौजनासहित १२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन्।
यस हप्ता इटालीमा आएको आँधी र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । इटालीका विभिन्न छ क्षेत्रमा सम्भावित आँधीका कारण उच्च सतर्कता अपनाउन सरकारले नागरिकहरूलाई सचेत गराएको छ।
मृतक एकै परिवारका नौ जनालाई पानीले डुबाएको घरभित्रबाट निकालिएको थियो भने अन्य तीन जनालाई नजिकैको एउटा नदी किनारबाट उद्धार गरिएको थियो।
अजी न्यूज एजेन्सीका अनुसार डुबानमा परेको उक्त घरका तीन सदस्य भने रूखमा चढेर बाँच्न सफल भएका बताइएको छ। मैले एउटी छोरीबाहेक परिवार, घर र सम्पत्ती सबै गुमाएकी छु, डुबानमा परेको घरबाट उम्कन सफल गिउसेपप्पे गिओर्डानोले सञ्चारकर्मीसँग बताइन्।
यही हप्ताको शुरुमा आएको आँधीका कारण सिसिलीमा धेरैवटा सडक अबरुद्ध भएका छन् र नगरका मेयरले विद्यालय, पार्क र भूमिगत सडक मार्ग बन्द गर्न आदेश दिएका छन्। इटालीको उत्तरी क्षेत्र र भेनिसको वरिपरि भयाङ्कर आँधी सहित वर्षा भएको थियो जसका कारण कम्तीमा २० जनाको मृत्यु हुनुका साथै पूर्वाधारमा व्यापक नोक्सानी भएको थियो।
डोलोमाइट्स पहाड र भेनेटो क्षेत्रका रुखहरु ढलेर थिए। “यो भूकम्प गएजस्तै विनाशकारी थियो,” भेनेटोका गभर्नर लुका जाइले बताए। “हजारौं हेक्टर जमिनका रुखहरु सोत्तर भएका छन्।” इटालीको नागरिक सुरक्षा निकायले विगत ५० देखि ६० वर्षको अविधिमा यति ठूलो जनधनको क्षति कहिल्यै नभएको बताएको छ।