कर्णाली प्रदेशः दुई विधेयक पारित
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १९ गते ०:५२

सुर्खेत। कर्णाली प्रदेशसभाको ४१औँ बैठकले दुई वटा विधेयक पारित गरेको छ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले संशोधनसहित पारितका लागि पेश गरेको ‘कर्णाली प्रदेशसभाको पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ र ‘कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रदेशसभाको बैठकले आज सर्वसहमत पारित गरेको हो।
कानूनमन्त्री भण्डारीले पेश गर्नुभएको विधेयकमा प्रदेशसभा सदस्य सीताकुमारी नेपालीले मुख्यमन्त्रीसहित मन्त्री, प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधामा धेरै अन्तर नगर्न अनुरोध गरे। मन्त्रिपरिषद्को निर्णयबाट गरिने खर्च अपारदर्शी हुने भन्दै उहाँले कानून बनाएर खर्च गर्न सरकारलाई सुझाए। प्रदेशसभा बैठकबाट वर्षे अधिवेशन आजदेखि अन्त्य भएको सभामुख राजबहादुर शाहीले घोषणा गरे।
प्रदेश प्रगतिका लागि एकताः प्रतिपक्षी
कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली आजको प्रदेशसभाको बैठकमा कर्णाली प्रदेशको प्रगतिका लागि एकता अपरिहार्य भएको बताए।
कर्णाली मुलुकका अन्य प्रदेशभन्दा कान्छो प्रदेश भएको र राज्यको दृष्टिकोण यसप्रति अहिले पनि कमजोर रहेकाले यो प्रदेश विकासमा कोही प्रतिपक्षी नभएको नेता शाहीले धारणा राखे। “हामी कर्णालीवासीको प्रतिपक्षी भनेकै गरीबी, अशिक्षा, अभाव र भोकमारी हो,” उनले भने।