काङ्ग्रेसको महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म
आजको खबर | प्रकाशित : २०७५ कार्तिक २० गते १३:४४

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आजको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ। अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मङ्सिर ५ देखि ९ गतेसम्म तोकिएको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको हो।
बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्दै पछाडि सार्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकले नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरणका क्रममा भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने निर्णय पनि गरेको छ।
बाँकी सहमति कार्यान्वयनका सन्दर्भमा अध्ययन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।यसैगरी पार्टीको लेखापरीक्षण समितिका संयोजकमा केन्द्रीय सदस्य श्याम घिमिरेलाई मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिएका छन्।