सिङ्गो बस्ती नै तरकारी खेतीमा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २१ गते ९:५९

भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा अधिकांश किसान अन्नबाली छाडेर नगदेबालीका रुपमा तरकारी खेती गर्न थालेका छन् । तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा तरकारी खेतीमा लागेका हुन् ।

लामो समय वैदेशिक रोजगारीमा रहेर गाउँ फर्किएका आदिवासी जनजाति समुदायका युवा पनि तरकारी खेती गरेर आयआर्जन गरिरहेका छन् । “यहाँ तरकारी खेतीबाहेक अरु खेती देख्न मुश्किल पर्छ ।”

स्थानीय तरकारी खेती गर्दै आएका किसान हरिराम चौधरीले भने, “अरु खेतीभन्दा यसमा बढी मुनाफा भएर सबै तरकारीमै लागे ।” २०५८ सालमा चार कठ्ठा जमीनबाट तरकारी खेती शुरु गरेका हरिराम चौधरीले अहिले १५ बिगाहा जमीनमा तरकारी खेती गरेका छन् ।

“राम्रो आम्दानीसँगै तरकारी खेतीले जिल्लामै किसानमाझ आफ्नो परिचय बनाइदियो ।” उनले भने, “अहिले गाउँमै तरकारी खेतीको लहर चलेको छ ।”
कुनै बेला आर्थिक अवस्थाले समस्या रहेको बताउँदै चौधरीले तरकारी खेतीबाट कमाइले धेरै सम्पति जोडेको बताए ।

“शुरुमा त धेरै समस्या थियो, जब मैले तरकारी खेती शुरु गरे राम्रो आम्दानी भएपछि खेती विस्तार गर्दै गए मेहनत गरे अहिले रामै्र छ ।” उनले भने, “तरकारीले नै पाँच पटक सम्मान थाप्ने अवसर समेत पाए ।”

जिल्ला कृषि विकास कार्यालय, युवा स्वरोजगार र राष्ट्रपति पुरस्कारबाट समेत सम्मानित भएका चौधरीले तरकारीकै आम्दानीबाट कैलालीको अत्तरियामा जमीन खरीद गरेर घर बनाएका छन् । “तरकारीको कमाइले ट्र्याक्टर, अत्तरियामा घर बनाउनुका साथै एक बिगाहा जमीन जोडे ।” उनले भने, “मिहेनत गरे विदेशिनु पर्दैन ।” उनले तरकारी खेतीबाट वार्षिक रु १२ देखि १३ लाखसम्म आम्दानी हुने गरेको बताए ।

त्यस्तै बालुवाफाँटाका टेकबहादुर चौधरी पनि तरकारी खेतीमै व्यस्त छन् । दुई वर्ष कतारमा मजदूरी गरेर घर आएको चौधरीले अहिले १५ कठ्ठा जमीनमा तरकारी लगाएका छन् । “वैदेशिक रोजगार मन नपरेपछि यहाँ आएर एक कठ्ठाबाट तरकारी खेती थालेको थिए ।” उनले भने, “खेती फष्टाउन थालेपछि बढाउँदै लगेको छु ।”

उनले तरकारी खपतका लागि बजारको समस्या नरहेको बताए । “तरकारी लिन जिप गाउँमै आइपुग्छन् ।” उनले भने, “गाडी नआएको दिन मोटरसाइकलमा भए पनि तरकारी बजार पु¥याउँछु ।”

कृष्णपुर नगरपालिका–६ का वडाध्यक्ष नत्थुराम चौधरीले गाउँमा ५० प्रतिशत किसान तरकारी खेतीमा लागेको बताए । “पहिले त धान गहुँमै जोड थियो ।” वडाध्यक्ष चौधरीले भने, “अहिले तरकारी खेती उचाइमा पुगेको छ ।” उनले किसानको प्रोत्साहनका लागि सरकार र स्थानीय तहले सहयोग गर्नुपर्ने बताए ।

२०७५ कार्तिक २१ गते ९:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर