भ्रष्टाचार विरुद्ध कठोरताका साथ प्रस्तुत हुने गृहमन्त्रीको चेतावनी

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २२ गते ८:४३

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले सरकारले भ्रष्टाचारीलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन्।

बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको देउसी–भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले भने, ‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ। देशबाट भ्रष्टाचार, तस्करी र बेथिति तथा अपराधलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ। भ्रष्टाचारीहरुलाई जेल हाल्ने प्रक्रियापनि चलिरहेको छ। यो अलिक मन्द छ। अब आउने दिनमा त्यो प्रक्रियालाई अझै तिव्र पार्नेछौं। अझै व्यापक बनाउनेछौं,’ उनले भने।

गृहमन्त्री थापाले सरकारले बलात्कारीलाई पनि कारबाही गरिरहेको बताए। उनले भने, ‘तपाइँ अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ। जबरजस्ती करणी गर्ने, बलात्कार गर्नेहरु, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ। बलात्कारीहरुलाई कारवाही भैरहेको छ। जहाँसम्म निर्मला प्रकरणको कुरा हो, त्यो विषयलाई कानुनको कठघरामा ल्याउने प्रक्रिया जारी छ। दोषी र अपराधीहरु कानुनको कठघरामा छिट्टै आउँछन्।’

उनले अगाडि भने –सिण्डिेकट अन्त्य भैसकेको छ। अब त्यसलाई व्यवस्थापन गर्ने काम बाँकी छ। र, त्यो चलिरहेको छ। अब छिट्टै यातायातमा भएको बेथिति, अराजकतालाई व्यवस्थित गरिनेछ। सिण्डिकेट कानुनतः अन्त्य भैसकेको छ। अब फेरि कसैले यातायातको क्षेत्रमा सिण्डिकेट लाद्न सक्दैन्।’

मुलुकमा सुशासन कायम गर्न र जनताको जनधन दुवैको सुरक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेकोले उल्लेख गर्दै सरकारले सोही अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको मन्त्री थापाको भनाइ छ। उनले भने, ‘हामी त्यो काममा दृढतापूर्वक लागिरहेका छौं। म सम्पूर्ण लगानीकर्ताहरुलाई देशलाई समृद्ध गर्नमा उहाँहरुको भूमिका अझै वृद्धि होस् । र, उहाँहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो र हामी सुरक्षाको प्रत्याभुति गर्छौं भनेर भरोशा दिलाउन चाहन्छु।’

२०७५ कार्तिक २२ गते ८:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर