रुख काटेर पैसा कमाउने मनस्थिति यो सरकारसँग छैन : वनमन्त्री बस्नेत

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २२ गते १०:०६

काठमाडौं। वनमन्त्री शक्तिबहादुर बस्नेतले विकास गर्दा वातावरणीय पर्यावरणलाई पनि ध्यानमा राखिने बताएका छन्। उनले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधार बनेपछिमात्रै रुख कटानको अनुमति दिने पनि स्पष्ट पारे।

बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन्। बस्नेतले विमानस्थल मुलुकको आवश्यकता भएपनि कमभन्दा कम वातावरणीय क्षतिमा निर्माण सक्नुपर्ने बताएका हुन्।

उनले भने, ‘वातावरण र विकासबीचको सन्तुलन मिलाएर मात्रै अगाडि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण छ।’ रुख काटेर पैसा कमाउने मनस्थिति यो सरकारसँग नभएको पनि उनले स्पष्ट पारे।

मन्त्री बस्नेतले ‘हरियो वन, नेपालको धन’ भन्ने नारालाई सार्थकता तुल्याउने गरी आफूले काम गरिरहेको पनि विश्वास दिलाए। उनले भने, ‘हाम्रो देश भुगोल र जनसंख्याको दृष्टिकोणले मझौला खालको देश हो । तर, प्राकृतिक साधान र स्रोत, र जैविक विविधताको दृष्टिकोणले धनि छ। हामीले विगतमा बनलाई सेवा क्षेत्रको रुपमा लियौं। तर, हामीले अहिले उत्पादनशील क्षेत्रमा बदल्नेगरि काम गरिरहेका छौं।’

नेपालका निकुञ्जहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउनेगरि काम भैरहेको पनि उनले विश्वास दिलाए। उनले भने, ‘समग्र सबै क्षेत्रबाट काम भैरहेको छ।’

उनले सरकार गठन भएको भर्खरै ७ महिना पूरा भएर यता आएको बताउँदै यो छोटो अवधिमै सरकारको समिक्षा गर्ने बेला नभएको पनि जिकिर गरे। ‘साँढे ३ सय कानुनहरु निर्माण गर्यौं । हामीले धेरै कामहरु गर्नुपर्नेछ। तर, अहिले नै मुल्यांकन गर्ने बेला भएको छैन। आवश्यक कामहरु भैरहेको छ। अब देखिनेगरि काम हुन्छन्,’ उनले थपे।

२०७५ कार्तिक २२ गते १०:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर