बजेट अभावले बेनी–गलेश्वर सडक अन्योलमा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २३ गते ७:०८

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकको प्रवेशविन्दुमा पर्ने बेनी–गलेश्वर खण्डको सडक आयोजना अन्योलमा परेको छ ।

ठेक्का सम्झौता भएर प्रारम्भिक चरणको काम शुरु भएको सडक योजना चालु आर्थिक वर्षमा बजेटविहीन बनेपछि कार्यान्वयनमा अन्योलता उत्पन्न भएको हो । तीन किलोमिटर दूरीको बेनी–गलेश्वर सडकमध्ये यसअघि एक किमी ५०० मिटर गत वर्ष कालोपत्रे भएको थियो ।

कालीपुलदेखि गलेश्वरसम्म बाँकी रहेको एक किलोमिटर ९०० मिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कार्यालय बागलुङले गत असारमा गौरी–पार्वती–रुपल जेभीसँग रु चार करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

कम्पनीका प्रतिनिधि विपिन खड्काले सडक डिभिजनले बजेट अभावमा काम स्थगित गर्न पत्राचार गरेपछि योजना अन्योलमा परेको बताए । गलेश्वर बसपार्कमा नाली र जलेश्वरमा पहिरो नियन्त्रणको काम शुरु गरेको कम्पनीले कार्यालयको पत्राचारपछि काम स्थगित गरेको छ ।

डिभिजनका प्रमुख थानेश्वर खत्रीले सङ्घीय र प्रदेश सरकारबीच कसले योजना सञ्चालन गर्ने भन्ने यकिन भएपछि काम अघि बढ्ने बताए । योजनालाई निरन्तरता दिन र बजेटको व्यवस्था गराउन सम्बन्धित मन्त्रालयमा पहल गरिएको जिल्लाका सांसदहरुले बताएका छन् ।

ठेक्का सम्झौता अवधि सकिन नौ महीना बाँकी छ । सडक फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, नाली बनाउने र दुई लेन कालोपत्रे गर्ने योजना छ । नौ मिटर फराकिलो हुने सडकमा एक मिटर नाली र सात मिटर कालोपत्रे गरिने सडक डिभिजनले जनाएको छ ।

सडक कालोपत्रे भएपछि प्रसिद्ध धार्मिकस्थल गलेश्वर, म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङ जानआउन प्रयोग हुने बेनी–गलेश्वर सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा असहज यात्रा गर्नुपर्ने समस्या छ ।

२०७५ कार्तिक २३ गते ७:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर