त्रिपिटक वाचनका लागि लुम्बिनी झकिझकाउ

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २३ गते ८:३३

निरु गौतम

बुटवल । नेपालमै पहिलो पटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ ।

देश विदेशबाट सयौँको सङ्ख्यामा उपस्थित हुने भिक्षुहरुले तीन दिनसम्म त्रिपिटक वाचन गर्ने कार्यक्रम तय भएपछि लुम्बिनीको मायादेवी परिसर सिँगार्न थालिएको हो । सरसफाइ गर्ने, पुष्पगुच्छाले सिँगार्ने, बौद्ध झण्डा, तुल, ब्यानर टाँग्नेलगायतका काम शुरु भैसकेको छ । उक्त कार्यक्रममा सहभागी हुने भिक्षुलाई निःशुल्क प्रवेश दिने र पवित्र धार्मिक कार्यमा सहभागी हुन चाहने अरु बौद्ध धर्मावलम्बीलाईसमेत आवतजावतमा सहज बनाउने निर्णय लुम्बिनी विकास कोषले गरेको छ । यही कात्तिक २८, २९ र ३० गते मायादेवी परिसरमा यो कार्यक्रम हुनेछ ।

अखिल नेपाल भिक्षु महासङ्घ, अमेरिकन बुद्धिष्ट एशोसिएसन, थाइ बुद्ध विहार र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम व्यवस्थापनको जिम्मा लुम्बिनी विकास कोषले लिएको छ । मन्दिर परिसरमा घाँस काटेर सफा गरिएको छ । बत्ती र फूलमालाले सजाउन बाँकी रहेको कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए ।

तीनदिने त्रिपिटक वाचन कार्यक्रममा १८ देशका ७०० भिक्षु, लामा, आनी तथा उपासक सहभागी हुनेछन् । कार्यक्रम गर्न रु ३५ लाखबराबरको खर्च लाग्ने अनुमान छ । सहभागी भिक्षुको भोजन, आवास र यातायातको व्यवस्थापन भइसकेको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए। भारत बोधगयालगायतका बौद्ध क्षेत्रमा थुप्रै धार्मिक कार्यक्रम भए पनि लुम्बिनीमा यस्ता कार्यक्रम आयोजना हुन सकेका थिएनन् । पहिलो पटक यति ठूलो धार्मिक कार्यक्रम हुनेभएपछि यहाँका पर्यटन व्यवसायी खुशी छन् ।

आयोजकका अनुसार पहिलो दिनको त्रिपिटक वाचन कार्यक्रम थाइ भिक्षुको नेतृत्वमा हुनेछ । भोजनपछि नेपाली भिक्षुको नेतृत्वमा त्रिपिटक वाचन गरिनेछ । त्यसपछि क्रमशः बर्मा, श्रीलङ्का र कम्बोडियाका भिक्षुको नेतृत्वमा पाठ गरिनेछ । दोस्रो दिनको सत्रको नेतृत्व महायानी अथवा हिमाली लामा भिक्षुहरुले गर्नेछन् । यसपछि चिनियाँ तथा जापानी भिक्षुको नेतृत्वमा त्रिपिटक वाचन कार्यक्रम हुनेछ ।

तेस्रोदिन त्रिपिटक पाठ वाचन थाइ भन्तेहरुको नेतृत्वमा हुनेछ । पछिको सत्रमा नेपाली अनागरिकहरु र आनीहरुले पाठको नेतृत्व लिनेछन । पाठ सकिएपछि सहभागी सबैको तर्फबाट मायादेवी मन्दिरमा शान्ति पदयात्रासहित दीप प्रज्वलनपछि कार्यक्रम सकिने आयोजकले बताएका छन् ।

भिक्षुहरुका अनुसार त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदाय (महायान, थेरवाद, बज्रयान, मूलसर्वास्तिवाद, नवयान आदि) ले मान्ने गर्छन् । यो बौद्ध धर्मको सबैभन्दा पुरानो ग्रन्थ हो र यसमा भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्दाको समयदेखि महापरिनिर्वाण हुुनुअघिसम्म दिनुभएका प्रवचनहरु सङ्ग्रह गरिएको छ । यो ग्रन्थ पाली भाषामा लेखिएको छ र विभिन्न भाषाहरुमा अनुवाद भएको छ । विनय पिटक, सुत्त पिटक र अपिधम्म पिटक गरी त्रिपिटक नामकरण गरिएको हो । अपि धम्म पिटक र सुत्तपिटक भगवन् बुद्धकै पालामा लेखिएको र विनयपिटक इशापूर्व दोस्रो शताब्दीमा राजा अशोकका पालामा लेखिएको मान्यता छ ।

यस पटक लुम्बिनीमा तीन वटै पिटकसँगै भगवान् बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई पहिलो पटक धर्मदेशना गर्दा सुनाउनुभएको वसन्त जातक सूत्र र शाक्य र कोलीय राज्यहरुकाबीच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध अन्त्यका लागि देशना गरेका महासमय सूत्र पनि पाठ गर्ने कार्यक्रम छ । त्रिपिटक पाली, देवनागरी, थाइ भाषा र शैलीमा वाचन गरिनेछ । हरेक भाषाका गुरुले गरेको वाचनलाई आफ्नो शैलीमा पछ्याउँदै अलग अलग देशका बौद्ध गुरुले वाचन गर्ने कार्यक्रम संयोजक भिक्षु महास्थवीरले बताए ।

२०७५ कार्तिक २३ गते ८:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर