जनताले चाहेजस्तो परिणाम आउने मन्त्री पण्डितको दाबी

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २४ गते १४:२६

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकास निर्माणका मुल कामहरु अब पूर्ण गतिका साथ अघि बढाउने र जनताले चाहेजस्तो परिणाम पनि आउने दाबी गरेका छन्।

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘बर्खा सकियो अब विकास निर्माणका कामहरु पूर्ण र द्रुत गतिका साथ अघि बढ्छन् । जनताले चाहेजस्तो परिणाम आउँछ। संघीय सरकारले अघि सारेको बजेट र प्रदेश सरकारहरुले अघि सारेका बजेटहरु पूर्ण गतिका साथ कार्यान्वयनमा जान्छन्। सरकारले परिणाम दिनेगरि धमाधम काम गरिरहेको छ।’

मन्त्री पण्डितले परिस्थिति र प्रसँगले गर्दा विकास निर्माणका काममा केही ढिलासुस्ती भएपनि अब ढिलाई नहुने बताए।
आफ्नो मन्त्रालयले यही कात्तिकको ८, ९ र १० गते सम्बन्धित निकायहरुसँग तराई–मधेश समृद्धिको प्रस्ताव माग गरेको सुनाउँदै आउने मंसिर ८ गते प्रस्ताव पेश गर्न समय दिएको मन्त्री पण्डितले जनाए।

उनले भने, ‘अब विनियोजित बजेटहरु विकास निर्माणका काममा तिव्रता प्रदान गर्छ । यो पहिलो वर्ष संविधान कार्यान्वयनको वर्ष भएकोले सरकार संविधान कार्यान्वयनमा कुनैपनि किसिमको ढिलाई चाहँदैन।’ संविधानअनुसार तीन तहका सरकारले काम गरिरहेको उनले उल्लेख गरे।

पण्डितले मुलुक केन्द्रबाट संघीय प्रणालीमा रुपान्तरण भएकोले रुपान्तरणको लागि गर्नुपर्ने केही कामहरु भैसकेका र केही कामहरु बाँकी रहेको बताउँदै भने, ‘अब बाँकी कामहरु पनि पूरा हुन्छन् । संघीय कानुन बन्ने चरणमा छ। प्रादेशिक कानुन र स्थानीय कानुनहरु पनि निर्माणको चरणमा छन्। कानुनहरु एकै रातमा बन्ने कुरा होइन। प्रक्रिया पूरा गरेर अघि बढ्छौं । कतिपय आवश्यक कानुनहरु संसदमा छन्। कतिपय निर्माण भैसकेका छन् ।’

संघीय प्रहरी ऐन निर्माणको अन्तिम चरणमा पुगिसकेको उनले जनाए। उनले भने, ‘कर्मचारी समायोजन ऐन अन्तिम चरणमा छ। अब बस्ने मन्त्रिपरिषद बैठकबाट कर्मचारी समायोजन ऐन अघि बढ्छ। संघीय प्रहरी ऐनपनि अघि बढ्छ । अरु थुप्रै ऐनहरु प्रक्रियामा छन्।’

अहिले देखिएका केही जटिलताहरु सरकारको ध्यानमा रहेको सुनाउँदै यी सबै समस्याहरुलाई समाधान गर्ने उनको विश्वास थियो। उनले भने,‘जनताको चाहना र भावना भनेको नै सुशासन, न्याय र विकाससँग जोडिएका छन्। यी सबै काममा यो सरकारले सफलता प्राप्त गर्छ ।’ चाडपर्वले हाल थोरै कामहरु अलमलमा परेको भएपनि तर अब सरकारका कामहरुले गति लिने उनको स्पष्टोक्ति थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जनताका गुनासाहरु तत्काल सम्बोधन गर्नुपर्ने भनेर निर्देशन दिएकोले आफूहरु त्यहीअनुसार अघि बढिरहेको उनको भनाइ छ। उनले भने,‘काम गरेर नै हामी जनतामा भएका असन्तुष्टिहरु सन्तुष्टिमा परिणत गर्छौं।’ उनले कर्मचारी व्यवस्थापनको काम पनि ऐनसँग जोडिएको बताए । उत्साहित भएर काम गर्नेलाई प्रोत्साहन गर्ने र उनीहरुको वृद्धि विकासको व्यवस्थापन गर्नेपनि उनले विश्वास दिलाए।

उनले भने,‘उहाँहरुलाई दिनुपर्ने सेवा तथा सुविधाका बारेमा पनि विशेष ध्यान दिन्छौं।’ स्वेच्छिक अवकाशमा जान चाहने राष्ट्रसेवक कर्मचारीलाई चाहिनेभन्दा बढि सेवा सुविधा दिन नसकिने उनको जिकिर छ। उनले भने,‘राज्यलाई बोझ बनाएर व्यक्तिलाई पोस्ने काम सरकारले गर्दैन।’

तर, उत्साहित भएर काम नगर्ने र झारा टार्नेगरि काम गर्नेहरुलाई सरकारले पनि त्यही अनुसारको व्यवहार गर्ने उनको चेतावनी थियो। उनले भने, ‘तोकिएको ठाउँमा नजाने र दृढ संकल्पित भएर काम नगर्नेलाई हामी सचेत गराउँछौं । सचेत गराउँदापनि नमाने दण्डित गराउँछौं। अनि त्यसो गर्दा पनि भएन भने बाईबाई गरेर बिदा गर्छौं। कसैको अनुहार हेरेर अब देश चल्दैन्। यो देशमा प्रशासन परिणाममुखी बनाउनुपर्छ । त्यो काममा हामी सफलता प्राप्त गर्छौं।’

अहिले देखिएका सबै समस्याहरु समाधान गर्ने उनले विश्वास दिलाए। उनले भने,‘काम गर्दै जाँदा जहाँ गल्ती भएका छन्, ती गल्तीहरुको बारेमा तपाई मिडियाका साथीहरुले पनि यहाँ गल्ती भयो भनेर औंल्याइदिनुहोस् ।’ सरकारले पद र आवश्यकताअनुसार कर्मचारी राख्ने तर पदविहीन बनाएर नराख्ने पनि उनले स्पष्ट पारे। उनले भने,‘काम भए र पद भए कर्मचारी हटाउँदैनौं। कर्मचारीको सवालमा क्याबिनेटले गरिसकेको निर्णयहरु कार्यान्वयनमा जान्छन्। यदि कार्यान्वनयमा समस्या आए हामी समाधानको खोजी गछौं ।’

प्रदेश र स्थानीय तहमा पठाईएका कर्मचारीहरुलाई सुरु–सुरुमा हाजिरी गर्न समस्या भएपनि अहिले त्यस्तो कुनै समस्या नरहेको उनले स्पष्ट पारे। त्यस्तै उनले संघीय कानुन धमाधम बनिरहेकोले चाँडै आउने पनि जानकारी दिए । उनले भने,‘संघीय कानुनहरु कतिपय यही महिनाभित्रै आउँछन् । कतिपय मंसिरको पहिलो हप्ताभित्र आउँछन्।’

फरक प्रसँगमा उनले आफूले सरकारले दिएको सुविधाबाहेक थप सुविधा नलिएको स्पष्ट पारे। पण्डितले आफूले थप गाडी नलिएको जिकिर गरे। उनले भने,‘नक्कली समाचार बनाएर राख्नेहरुलाई मलाइ केही भन्नुछैन। तर, मैले सरकारले दिएको सुविधाबाहेक थप सुविधा लिएको छैन् । र, लिनेपनि छैन।’

उनले आफू पाएको जिम्मेवारीलाई तोकिएकै समयसिमाभित्र सम्पन्न गर्न दृढसंकल्पित रहेको पनि दाबी गरे। उनले भने, ‘मैले सुरुवातमै यही रिपोर्टर्स क्लब नेपालमा आएर असारभित्र प्रशासनिक संक्रमणको अन्त्य गर्छु भनेर बोलेको थिएँ, त्यसलाई अन्त्य गरेरै देखाएँ । अब पुषभित्र कर्मचारी समायोजन गर्छु भनेर बोल्दैछु । त्यो पनि पूरा गरेर देखाउँछु।’

मन्त्री पण्डितले लोकसेवा आयोगको भर्ना विज्ञापन सरकारले नरोकेको जिकिर गरे। उनले भने,‘२ महिनाको लागि उपसचिव र सहसचिवको बढुवामात्रै रोकेको हो । अरु कुनै रोकिएको छैन । लोकसेवा आयोगको कर्मचारी भर्ना प्रक्रिया जारी नै छ। अहिलेपनि ३७५ शाखा अधिकृतले स्टाफ कलेजमा तालिम लिइरहेका छन्।’ प्रदेश लोकसेवा आयोग र स्थानीय सेवा आयोग गठन भएपछि त्यहीँबाट आवश्यक कर्मचारी पूर्ति गर्ने बाटो खुल्ला हुने पनि उनले जनाए।

२०७५ कार्तिक २४ गते १४:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर