कांग्रेसमा अस्तित्व जोगाउन संघर्षरत चोरलाई चौतारी, साधुलाई सुली!

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २५ गते ५:२३

काठमाडौं। नेपालमा एउटा चर्चित आहान छ–चोरीलाई चौतारी, साधुलाई सुली। २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा आफ्नो अस्तित्व जोगाउनै असफल भएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र यतिबेला यही नेपाली आहान जस्तै भएको छ। पार्टीका लागि त्याग गर्ने र पुराना नेता कार्यकर्तालाई पाखा लगाएर आफ्नो नजिकका र भजनमण्डलीलाई काखी च्यापेको आरोप खेप्दै आएका सभापति शेरबहादुर देउवाले एक पटक फेरि त्यस्तै विरोधको सामना गर्नु परेको छ।

आफ्ना नजिकका मानिसलाई पदमा ल्याउन जस्तो सुकै काम गर्नसमेत पछि नपर्ने देउवाले पछिल्लो समय करिब १० वर्ष पहिला कांग्रेस परित्याग गरेर मधेसको क्षेत्रीय राजनीतिक गर्न मधेस झरेका विजयकुमार गच्छदारलाई उपसभापति मनोनित गरेका छन्। रामचन्द्र पौडेल पक्षधरको चर्को विरोधकाबीच देउवाले विधान विपरित गच्छदारलाई उपसभापतिमा मनोनयन गरेका हुन्।

गच्छदार कुनै बेला कोइराला परिवारका सबैभन्दा बढी विश्वास पात्र थिए। गिरिजाप्रसाद कोइरालाको दौराको फेरो समाएर कांग्रेसको राजनीतिमा स्थापित भएका गच्छदार पछि तिनै गिरिजाप्रसाद कोइरालालाई धोका दिँदै शेरबहादुर देउवाले पार्टी विभाजन गर्दा प्रजातान्त्रिक कांग्रेसको महामन्त्री बनेका थिए।

पार्टी एकीकरणपछि पार्टीमा राम्रो भूमिका नपाएका गच्छदार मधेस आन्दोलन उत्कर्षमा पुगेको बेला उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनाधिकार फोरममा प्रवेश गरे। सत्ता बिना केही पनि गर्न नसक्ने स्वभावका गच्छदारले पछि उपेन्द्र यादवसँग विवाद भएपछि पार्टी विभाजन गरी मधेसी जनाधिकार फोरम लोकतान्त्रिक गठन गरेर सधैं सरकारमा बसिनै रहे।

आफ्नो दलले निर्वाचनमा राम्रो परिणाम ल्याउन नसक्ने देखेपछि गच्छदार पुन कांग्रेसमै फर्किए र अहिले देउवाले उनलाई उपसभापतिमा मनोनयन गरेका छन् त्यो पनि विधान विपरित। कांग्रेसभित्र भ्रष्ट छविका रुपमा चिनिने गच्छदार यति चतुर राजनीतिक खेलाडी हुन् की उनलाई आजसम्म अख्तियारले समेत कारवाही गरेको छैन।

सत्तामा पुग्नका लागि उनी जे पनि गर्न तयार हुन्छन्। देउवाले पार्टी फुटाउँदा सत्ताकै लागि गच्छदार आफ्ना रोलमोडल गिरिजाप्रसाद कोइरालाको पदचाप त्यागेर देउवाको पछि लागेका थिए। र, देउवाले पनि सत्ताकै लागि पार्टी फुटाएका थिए । त्यसपछि पुनः कांग्रेसमै फर्किएका गच्छदारले कांग्रेसबाट सत्तँमा जान नपाएपछि उपेन्द्र यादवको फोरम समाए र सत्तामा गए।

उपेन्द्रको पार्टीमा रहँदा सत्तामा जान नपाएपछि उनले त्यो पार्टी पनि फुटाए र पुनः सत्तामा गए। सत्ताका भोका गच्छदार पुनः सत्तामै जानको लागि चुनावको मुखमा कांग्रेसमा आएका थिए। भलै उनले आफ्नो क्षेत्रबाट चुनाव जिते तर कांग्रेसलाई जनताले लोप्पा खुवाइदिएपछि उनको सत्तामा जाने सपना तुहियो। यति हुँदा पनि पार्टीभित्र पदमा पुग्ने र पार्टीभित्रै भए पनि हुकुम चलाउने उनको अभिलाषा अहिले सभापति देउवाले पूरा गरिदिएका छन्। नगरुन् पनि किन? देउवा पनि त उही ड्याङका मुला हुन्, सत्ताको लागि नीति र सिद्धान्त बेचेर खाने खालका।

नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी यतिबेला इतिहासकै कमजोर बन्न पुगेको छ। पार्टीभित्र निष्ठा र सिद्धान्त ओइलाएको छ भने निष्ठावान कार्यकर्ताले आफ्नो अभिभावक पार्टीभित्र पाउन छाडेका छन्। पार्टीले कार्यकर्ताको संरक्षण गर्न नसकेपछि कार्यकर्ता पनि पार्टीकालागि पहिला जस्तोगरी खट्न छाडेका छन्। अहिले नेपाली कांग्रेभित्र पूरै प्रजातान्त्रिक कांग्रेस हावी भएको छ। शेरबहादुर देउवाले २०५८ सालमा सत्ताका लागि नेपाली कांग्रेसलाई फुटाएका थिए।

त्यतिबेला देउवालाई साथ दिएका नेताहरु अहिले कांग्रेसको मुख्यधारको राजनीतिमा छन्। अहिले कांग्रेस संचालन गर्ने तहमा तिनै लोभीपापीहरु छन् जसले सत्ताको लागि सिद्धान्तलाई घाममा सुकाइदिन समेत पछि पर्दैनन्। सत्ताको लागि जे पनि गर्न तयार हुने यी अवसरवादीबाट कांग्रेस कार्यकर्ताले के आशा गर्ने? कांग्रेस भएकै कारण कुनै समस्यामा परेका कार्यकर्ताका लागि यी अवसरवादीहरु अभिभावक बन्न सक्लान्? आफ्नो स्वार्थ अनुकूल भए जे पनि गर्न सक्ने यी नेताबाट कांग्रेस कार्यकर्ताले केही आशा गर्ने ठाउँ बाँकी देखिँदैन। यस्तै अवस्था रहिरहने हो भने कांग्रेस अब प्रजापरिषद जस्तै इतिहासका पानामा विलिन हुने खतरा छ।

उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा।प्रकाशशरण महतलगायतका नेताले पार्टी फुटाएका बेला देउवालाई साथ दिएका थिए। अहिले पनि कांग्रेसभित्र यिनै सक्रिय छन्। पुरानो संस्थापन पक्ष यतिबेला निष्क्रिय जस्तै छ।

‘अहिले पुरानो संस्थापन पक्ष निष्क्रियजस्तै हुँदा पूर्व प्रजातान्त्रिक कांग्रेसको मनोबल झन बढिरहेको छ। नत्र मुलुकभित्र ओली सरकार यति कमजोर नभएको भए देउवाले कांग्रेसलाई राप्रपा जस्तो बनाइसक्थे,’ नाम उल्लेख नगर्ने शर्तमा एक नेताले भने, ‘अहिले कार्यकर्ताले पार्टीभित्र आफ्नो संरक्षण गर्ने नेता पाउन छोडेका छन्। पद र पैसामा मात्र नेतृत्व केन्द्रित हुँदा कांग्रेस इतिहासकै कमजोर पार्टी बन्न पुग्यो।’

कांग्रेसमा सुशील कोइरालाको निधनपछि संस्थापन पक्ष एकजुट हुन नसक्दा कांग्रेसभित्र देउवाको हालीमुहाली बढ्न थालेको हो। सुशीलको निधनपछि संस्थापन पक्ष एकजुट नहुँदा सभापतिमा देउवा सभापतिमा निर्वाचित भए। उनले आफ्ना नजिकका मानिसलाई पदाधिकारीमा नियुक्त मात्र गरेनन् सत्ता र शक्तिका लागि जुन हदसम्म पनि जान तयार भएको कांग्रेसका नेताहरुले गुनासो गरेका छन्।

भरतपुर महानगरपालिकामा माओवादी उम्मेद्वारलाई भोट हाल्न लगाउनुदेखि प्रतिनिधिसभा निर्वाचनमा उपेन्द्र यादव, कमल थापा, महन्थ ठाकुरसम्मलाई बिना फाइदा कार्यकर्तालाई भोट हाल्न बाध्य पारेका थिए। दूरदर्शीता नभएका नेताका रुपमा स्थापित भएका नेता देउवा आसन्न १४ औं महाधिवेशनमा फेरि आफैं सभापति बन्ने दाउमा छन्। तर कांग्रेसमा देउवा इतरका नेताहरु एकजुट भइसकेका छन् ।

उता निर्वाचित महामन्त्री डा. शशांक कोइरालाले अब कांग्रेसको नेतृत्व कोइराला परिवारले गर्ने घोषणा गरिसकेका छन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी पनि अहिले पुरानो संस्थापनमा फर्किएका कारण र देउवालाई आगामी महाविधेशनमा पुन सभापति बन्न सजिलो त नहोला तर, पुरानो संस्थापन पक्षभित्रै पनि सर्वमान्य नेता नभएका कारण आगामी महाविधेशनमा सभापतिको उम्मेद्वार को हो भन्ने निश्चित भइनसकेका कारण १४ औं महाधिशेवनबाट को सभापति बन्ला अहिले नै भन्न सकिने अवस्था छैन।

२०७५ कार्तिक २५ गते ५:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर