निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै आजदेखि अनिश्चितकालीन धर्ना सुरु

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २५ गते १०:३५

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न दवाब दिँदै आइतबारदेखि पीडित परिवारले अनिश्चित्कालीन धर्ना दिन सुरु गरेका छन्।

निर्मलाकी बुबा यज्ञराज, आमा दुर्गालगायत परिवारका सदस्यहरुले न्यायका लागि सरकारलाई दवाब दिन महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्ना दिन सुरु गरेका हुन्। सरकारलाई न्याय दिन बाध्य पार्न थप दवाब दिन अनिश्चितकालीन धर्ना दिन सुरु गरिएको निर्मलाकी बुबा यज्ञराज पन्तले जानकारी दिए।

धर्ना दिनु अघि निर्मलाको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै अधिकारकर्मीहरुसहितको र्याली निकालिएको थियो। सरकारले न्याय दिन्छ भन्ने विश्वास नरहेपछि नागरिक समाज र संचारकर्मीहरुकै उपस्थितिमा थप दवाब दिन धर्ना अभियान सुरु गरिएको पनि यज्ञराजले बताए। नागरिक समाज र संचारकर्मीहरुको पहलमा भने निर्मलाले न्याय पाउने पीडित परिवारको विश्वास छ।

पीडित परिवारले निर्मलाले न्याय नपाए आमरण अनसन बस्ने चेतावनी पनि दिएका छन। यज्ञराजले छोरीलाई बलात्कारपछि हत्या गर्ने अपराधीलाई पक्राउ गरी कार्वाही नगरे आफूहरु आमरण अनसन बस्न बाध्य हुने चेतावनी पनि दिए। उनले सरकारले अपराधिलाई पत्ता लगाउन नसकेको भन्दै आक्रोश पोखे।

धर्नामा निर्मलाका बुबाआमासँगै बहिनी सरस्वती, भाइ मोहित रहेका छन्। त्यसैगरी कान्छी आम लक्ष्मी र आफन्तहरु पनि धर्नामा सहभागी भएका छन्। यस अघि निर्मलाका बुबा यज्ञराजले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई भेट गरी धर्ना बस्ने कार्यक्रमबारे जानकारी गराएका थिए।

यज्ञराजले छोरीको हत्यारा पत्ता नलागे आफूहरु मर्न तयार हुने चेतावनी पनि दिए। गत श्रावण १० गते साथीको घरमा गएकी निर्मलाको दोस्रो दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो। सोही दिनदेखि हत्यारा पत्ता लगाउन माग गर्दै पीडित परिवार, आफन्तको साथमा देशभर आन्दोलन हुँदा पनि सरकारले अझै अपराधि पत्ता लगाउन सकेको छैन्।

त्यसक्रममा निर्मलाकी बुबाआमा न्याय माग्दै काठमाडौं समेत आएका थिए। प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापालाई भेटेरै आग्रह गर्दा पनि अझै आफूहरुले न्याय पाउन नसकेको निर्मलाका बुबा यज्ञराज र आमा दुर्गाको गुनासो छ। पीडित दुवैले छोरीले न्याय नपाए आफूहरु आत्महत्या गर्न तयार हुनेतर्फ पनि सरकारलाई सचेत गराउँदै आएका छन्।

२०७५ कार्तिक २५ गते १०:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर