छिटो सगरमाथा आरोहणको विश्वकीर्तिमान झुटो ! पेम्बाको प्रमाणपत्र खारेज गर्न सर्वोच्चको आदेश

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २५ गते १२:५५

सोलुखुम्बु। सर्वोच्च अदालतको आदेशपछि सोलुखुम्बु दुभिङका आरोही ल्हाक्पा गेलु शेर्पा सबैभन्दा छोटो समयमा आरोहण गर्ने ‘तीब्र आरोही’ बन्न सफल भएका छन् । उनी सन् २००३ मे २५ का दिन १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमा सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान राख्न सफल भएका थिए ।

ल्हाक्पापछि सन् २००४ मे २१ मा दोलखाका पेम्बा दोर्जी शेर्पाले आठ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेको र आफू ‘तीब्र आरोही’ भएको जिकिर गरेकाले पर्यटन विभागले उनलाई ‘तीब्र आरोही’को प्रमाणपत्र प्रदान गरेको थियो । प्रमाणपत्र पाएपछि पेम्बाले गिनिजबुक अफ वल्र्ड रेकर्डस्मा नाम समेत दर्ता गराएका थिए । पेम्बाले झुटो प्रमाणपत्र पेश गरी विश्वकीर्तिमानी कायम गरेको आरोप लगाउँदै लाक्पासहितको आरोही समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । विभागका कर्मचारीसमेतलाई विपक्षी बनाई दायर उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०७४ मङ्सिर १२ गते पेम्बाको प्रमाणपत्र खारेज गर्न आदेश दिएको थियो ।

आरोहणपछि पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३० सँग सम्बन्धित अनुसूची–११ बमोजिम सम्पर्क अधिकृतले पेश गर्ने प्रतिवेदनमा सोही अनुसूचीको खण्ड २३ अनुसार पर्वतारोहीले यात्रा गरेको महत्वपूर्ण ठाउँको तस्वीर तथा पर्वतारोही दलका सदस्यसमेत उपस्थित भएको सगरामाथा आधार शिविरको तस्वीर सहितको प्रतिवेदन बुझाउनुपर्छ ।

पेम्बाको आरोहणमा पर्वतारोहणसम्बन्धी नियमावलीसँग मेल नखाएको भन्दै कीर्तिमानी झुटो ठहर गरी अदालतले उनको कीर्तिमानी खारेज गरेको थियो । अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले ६ महीनाअघि पेम्बाको आरोहणको कुनै आधार नभएको भन्दै उक्त कीर्तिमानी खारेज भएको आदेश जारी गरेको थियो ।

सो आदेशपछि पर्यटन विभागले १४ वर्षअघि विनाआधार पेम्बालाई सगरमाथाको ‘तीब्र आरोही’ भएको भनी थमाएको प्रमाणपत्र गलत भएको स्वीकार गर्दै गत असोज १७ गते प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको थियो । विनाआधार दिइएको प्रमाणपत्र विभागले रद्द गर्दै ‘तीब्र आरोही’ ल्हाक्पागेलु नै भएको पुनः प्रमाणित गरेको छ ।

विभागको चलानी १९३९ को मिति २०७५ कात्तिक १५ को पत्रमार्पmत ल्हाक्पा नै पुनः ‘स्पिङ आरोही’ भएको भनी जानकारीसहितको पत्र पठाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मिति २०७५ असोज १७ को निर्णयले पेम्बाको विश्वकीर्तिमानी खारेज गर्दै लाक्पागेलुकै कीर्तिमानीलाई सदर गरेको जानकारी पत्र भने करीब एक महीना ढिला गरी चलानी गरिएको थियो । विभागका निर्देशक मीरा आचार्यले अदालतले आरोही ल्हाक्पाको पक्षमा पूर्ववत् निर्णय कार्यान्वयन गराउनू भन्ने आदेशबमोजिम सचिवस्तरीय निर्णय भई आएकाले सोही आधारमा जानकारी गराइएको बताइन् ।

छिटो आरोहण गरेको जिकिर गरेका पेम्बाका सम्बन्धमा सर्वोच्चको आदेशबारे थप अध्ययन गरी विभागको धारणा सार्वजनिक हुने उनले जानकारी दिइन् । झुटो विवरण पेश गरी विश्वकीर्तिमानी कायम गर्ने आरोही अत्यधिक रहेको आरोही दलको जिकिर छ । सगरमाथा आरोही कितबसिं तामाङले छु्टो विवरण पेश गर्ने आरोही धेरै भए पनि नियमनकारी निकायको दरिलो उपस्थिति नहुँदा समस्या समाधान हुन नसकेको बताए । यसअघि सन् २०१६ मे २३ मा भारतीय प्रहरी सेवामा कार्यरत दिनेश राठोर र उनकी श्रीमती तारकेश्वरीले नक्कली तस्वीर देखाएर सगरमाथा आरोहण गरेको जिकिर गर्दै पर्यटन विभागबाट प्रमाणपत्र लिएका थिए ।

२०७५ कार्तिक २५ गते १२:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर