‘पथभ्रष्ट’ देउवा र ओरालो लागेको कांग्रेस

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २७ गते ७:०९

दामोदर नेपाल

आधुनिक नेपालका ठूला राजनैतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको नेपाली कांग्रेस अहिले इतिहासकै सबैभन्दा कठिन मोडमा उभिएको छ। पछिल्लो चुनावमा नराम्रो पराजय भोगेको कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा पनि कमजोर भएको सर्बत्र आलोचना छ।

२००७ मा प्रजातन्त्र स्थापनापछि भएको निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर पाएको कांग्रेसलाई २०४६ मा बहुदलीय प्रजातन्त्रको स्थापनापछि पनि बहुमत प्राप्त थियो। त्यसपछि भएका आवधिक निर्वाचनहरुमा पनि सम्मानजनक मत पाउँदै आएको कांग्रेस अहिले भने पूरै धरापमा पर्यो। निर्वाचनपछि भएको समीक्षामा कांग्रेसजनहरुले यो पराजयका विविध कारणहरु खोजे होलान्। तीमध्येका केही (बताउन मिल्ने) कारणहरु सार्वजनिक पनि गरिए। तर, जति लुकाउन खोजे पनि सतहमै छताछुल्ल भएको तथ्य प्रस्ट छ। कांग्रेसको पराजयको कारण पार्टीको नेतृत्व नै हो।

नेतृत्व गैर जिम्मेवार हुँदा कांग्रेस हारेको तथ्य लुकाइराख्नु जरुरी छैन। निर्वाचनमा पराजित भएपछि केही कांग्रेस उम्मेदवारले नेतृत्वको कमजोरीका कारण पराजित भएको प्रतिक्रिया दिँदा पार्टी सभापति शेरबहादुर देउवा उल्टै जंगिए। देउवाले त्यतिबेला खरो प्रतिक्रिया दिएका थिए, ‘चुनावमा आफू हार्ने अनि पार्टीलाई दोष लगाउने ?’ यो अभिव्यक्ति दिइरहँदा देउवा देशका प्रधानमन्त्री थिए। प्रधानमन्त्री भएर देशकै नेतृत्व गरिरहेको व्यक्तिले के यस्तो अभिव्यक्ति दिन सुहाउँछ? देउवा त्यतिबेला पार्टीले हारे पनि आफूले जितेको दम्भमा यस्तो बोलेका थिए। तर, उनले बुझ्नुपर्ने कुरा के हो भने छोराछोरीले हारेर आफूले जित्दा कुनै पनि पिता खुसी हुन सक्दैन। के पार्टीले हारेर आफूले आफ्नो क्षेत्रमा जित्दा दम्भ देखाउने देउवा कांग्रेसका लागि योग्य अभिभावक हुन्? कांग्रेसजनले सोच्नुपर्ने बेला भइसकेको छ।

मानिलिउँ देउवालाई जनताले रुचाए। अन्य क्षेत्रमा पार्टी होइन उम्मेदवारलाई नरुचाएर मतदाताले मत दिएनन्। त्यसोभए सभापति महोदय, अब अर्को गम्भीर प्रश्न उठ्छ अघिल्लो चुनावमा आफूले जितेको र कांग्रेसको पकड भएको ठाउँ आफ्नी पत्नीलाई दिँदा उहाँलाई चाहिँ किन जिताउन सक्नुभएन? किनकि पत्नी आरजुलाई देउवाले भावी प्रधानमन्त्री बनाउने मनसुवाका साथ प्रत्यक्ष निर्वाचनमा अघि सारेका थिए। मतदाताले उनलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गर्न सकेनन् र मत दिएनन्। सत्तामा आफू नभए पत्नीलाई स्थापित गराउँ भन्ने देउवाको त्यही संकुचित मानसिकतालाई मतदाताले लोप्पा ख्वाएका हुन्। सत्ताको लागि जेसुकै गर्न सक्ने देउवाको मानसिकताकै कारण कांग्रेस बढारिएको तथ्य लुकाइराख्नु जरुरी छैन।

देशमा दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार छ र निर्वाचनले कांग्रेसलाई वाचडगको भूमिका निर्वाह गर्न प्रमुख प्रतिपक्षी बनाएका छन्। सरकारले दुई तिहाइको दम्भमा मनलाग्दी गरेर अगाडि बढिरहेको छ। खबरदारी गर्नुपर्ने प्रतिपक्षी सुतेको छ। सरकार गठन भएको ९ महिना भइसक्यो। अझैसम्म सरकारले जनताको अपेक्षाअनुरुप काम गर्न सकिरहेको छैन। यस्तो अवस्थामा खबरदारी गर्न छोडेर प्रमुख प्रतिपक्षी दलका नेता कहाँ व्यस्त छन्? उत्तर सुन्दा हाँसो उठ्छ, उनी त पार्टीको विधान मिचेर भर्खरै पार्टीमा भित्रिएका नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउँदैछन्।

जनपक्षीय काम गर्नको लागि सरकारसँग बहस गर्नुपर्ने बेला आफ्नै पार्टीभित्र आफ्नै परिवारसँग विवाद गरिरहेछन्। सभापति महोदय, तपार्इ पार्टीको अभिभावक हो। छिमेकीले परिवार भाँड्न खोजे भने त्यसको खबरदारी गर्ने दायित्व अभिभावकको हो। छिमेकीलाई खबरदारी गर्नुपर्ने बेला छोराछोरीसँग विवाद गरेर बस्नेलाई के अभिभावक भन्न सकिएला?

कांग्रेसजनलाई नमिठो लाग्ला तर सत्य यही हो – देउवा कांग्रेस सभापति हुनु कांग्रेसको भविष्यको लागि खतरनाक छ । यो कुरा बुझ्न केही इतिहासका तथ्य खेलाउनुपर्छ । जतिबेला कांग्रेसमा बीपी थिए कांग्रेस सही थियो । त्यसपछि गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद हुँदासम्म पनि कांग्रेसले बाटो बिराएन । सुशील कोइराला हुँदासम्म पनि कांग्रेसले सिद्धान्त छाडेको थिएन । किनकि त्यतिबेला कांग्रेसीजनका अभिभावक थिए । पार्टी नेतृत्वले दूरदराजका कार्यकर्ताहरुको पनि संरक्षण गथ्र्यो । त्यसैले त देशमा कांग्रेस थियो । र, कांग्रेसले नै देशका ठूला परिवर्तनको नेतृत्व गरिरहेको थियो । पछिल्लो समय सुशील कोइरालाले संविधान जारी गर्दै ठूलो राजनैतिक परिवर्तनको नेतृत्व गरेका थिए ।

जब सुशील रहेनन् त्यसपछि कांग्रेसभित्र अभिभावक रहेनन् । महाधिवेशनमा कांग्रेसीजनले अर्को विकल्प देखेनन् र शेरबहादुर देउवालाई पार्टी सभापति बनाए । यो कांग्रेसीजनको चाहना भन्दा बढी बाध्यता थियो । जब देउवाको हातमा कांग्रेसको नेतृत्व गयो त्यसपछि कांग्रेस सिद्धान्तविहीन भयो । किनकि देउवा पहिलेदेखि नै सिद्धान्तप्रेमीभन्दा बढी सत्ता र शक्तिको लोभी थिए । देउवामाथि यो आरोप लगाइरहँदा दुई दशकअघि फर्केर हेर्नु उचित हुन्छ जब उनले फगत सत्ताकै लागि दरबारसँग साँठगाँठ गरेर पार्टी विभाजन गरेका थिए । त्यसपछि दरबारले दिएको ललिपपको लोभमा जनताको बलिदानीले आर्जेको प्रजातन्त्र दरबारमा लगेर बुझाएका थिए । हुन त उनले त्यसको सजाय पनि त्यतिबेलै पाए जब दरबारबाटै असक्षमको बिल्ला लगाएर गलहत्याइए । जुन कांग्रेसको नेतृत्वमा जनताले बलिदान दिएर बहुदलीय प्रजातन्त्र ल्याएका थिए त्यही प्रजातन्त्र दरबारमा लगेर बुझाउने व्यक्ति कांग्रेसको अभिभावक बन्न सक्छ रु कदापी सक्दैन । उनी लोभीपापी हुन् र जनताले आर्जेको प्रजातन्त्र दरबारमा लगेर बुझाएको कलंकको टीका उनको निधारमा लागेको छ त्यो कदापी मेटिने छैन ।

कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हाले पनि बाङ्गै रहन्छ । देउवा त्यही कुकुरको पुच्छर हुन् जो कहिल्यै सोझिँदैन । उतिबेला सत्ताको लागि प्रजातन्त्र दरबारमा बुझाउन पछि नपरेका देउवाले अहिले पनि त्यो चरित्र देखाइछाडे । सत्ताको लागि पार्टीको सिद्धान्तलाई तिलाञ्जली दिए । स्थानीय निर्वाचनमा आफ्नो पार्टीको सिद्धान्तभन्दा पूरै विपरित सिद्धान्त भएको पार्टी माओवादीकी उम्मेदवार रेणु दाहाललाई मतदान गर्न कार्यकर्तालाई बाध्य पारे । सभापतिको निर्देशनकै कारण बाध्य भएर कांग्रेस मतदाताले पनि रेणुलाई मतदान गरे । तर, के ती कांग्रेसीजनले हँसिया हथौडामा मत हाल्दै गर्दा उनीहरुको मन रोएन होला? आफ्नो दलभन्दा विपरित सिद्धान्त भएको दलका उम्मेदवारलाई मत हाल्न लगाउँदा कहाँ गयो पार्टीको सिद्धान्त?

देउवाको सत्ताको लागि जेसुकै गर्न तयार हुने चरित्र यत्तिमै सकिँदैन । उनले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका बेला महन्थ ठाकुरलाई मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए । देउवाले बिर्से कि महन्थ तिनै हुन् जसले कांग्रेसबाट विद्रोह गरेर अर्को पार्टी बनाएका थिए । सत्ताका लागि आफैंलाई लत्याएका व्यक्तिको पाउ पर्दा देउवालाई पार्टीको सिद्धान्तले अलिकति पनि झस्काएन । देउवाले बिना पार्टीको फाइदा (व्यक्तिगत फाइदा त थियो होला) उपेन्द्र यादवलाई मत हाल्न पनि कांग्रेस कार्यकर्तालाई अह्राए, डा. बाबुराम भट्टराईलाई पनि मत दिन लगाए । हुँदा हुँदा लाजै पचाएर कमल थापालाई भोट हाल भनेर आफ्ना कार्यकर्तालाई भने । २०६२÷६३ को जनआन्दोलनमा आफ्नै पार्टीका कार्यकर्तालाई दमन गर्ने कमल थापालाई मतदान गर्नुपर्ने कारण के थियो सभापति महोदय?

कांग्रेसको नेतृत्वमा देश धर्मनिरपेक्ष र गणतन्त्र भएको हो । कांग्रेसको नेतृत्वमा ल्याइएको त्यही धर्मनिरपेक्षता र गणतन्त्र खारेज गर्दै हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गरिरहेका कमल थापालाई मतदान गर्नु के देउवाको राजनैतिक सिद्धान्त थियो? पटक्कै थिएन । यो सबै देउवाले फगत सत्ता पाउनको लागि गरेका थिए । आफ्नै पार्टीले ल्याएका उपलब्धी दरबारमा बुझाउने । आफ्नै दलको नेतृत्वमा प्राप्त उपलब्धी खारेजीको माग गर्नेलाई मतदान गर्ने र आफ्नै पार्टीलाई लात हानेर जानेको पाउ पर्ने सभापति देउवालाई के अझै पनि कांग्रेसीजनले अभिभावक मानेर बस्ने?

सच्चा कांग्रेसीजनले कांग्रेस त्याग्न सक्दैनन् र सभापतिले जेसुकै गरेको भए पनि अर्को निर्वाचनमा रुखमै मत हाल्नेछन्। के ती सच्चा कांग्रेसीजनको मत त्यही व्यक्तिलाई शक्तिमा पठाउनका लागि हो, जसले व्यक्तिगत स्वार्थको लागि आफ्नै पार्टीका उपलब्धीलाई बेचेर खान पछि पर्दैन ? कांग्रेस इतिहासकै कठिन मोडमा छ। अब पनि नेतृत्व नफेरिने हो भने कांग्रेसको अस्तित्व बाँकी रहने छैन। कांग्रेसलाई प्रजापरिषद बन्न दिने कि नदिने यो कांग्रेस नेता कार्यकर्ताकै हातमा छ। बेलैमा नसच्चिने हो भने कांग्रेस इतिहासमा मात्र सीमित रहनेछ।

२०७५ कार्तिक २७ गते ७:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर