चीनमा प्रवेश पाउँदै नेपाली जहाज, पर्यटन प्रवद्र्धनमा चीन सकारात्मक

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २८ गते २:१६

काठमाडौँ । नेपाली जहाज पनि चीनमा प्रवेश पाउने भएको छ। मंगलबार दुई पक्षीय छलफल पछि नेपाली जहाजलाई चीनमा उडान गर्न चीन सकारात्मक भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग पर्यटन मन्त्रालयमा भएको छलफलमा चिनियाँ पर्यटनमन्त्री लु सङ्गेङले यस सम्बन्धमा चीन सकारात्मक भएको बताएका छन्।

पर्यटनमन्त्री अधिकारीका अनुसार नेपाली जहाज चिनियाँ भूमिमा जाने सन्दर्भमा आफ्नो विभागीय मन्त्रालय नभएपनि सहजीकरणका लागि जोडदार कुरा उठाउने चिनियाँ पर्यटनमन्त्रीले वचन दिएका छन्। चिनियाँ मन्त्रीको बचनबद्धता नेपाली हवाई उड्डयनका क्षेत्र सकारात्मक पक्ष हो । अहिलेसम्म चिनियाँ जहाजले नेपालमा प्रवेश पाएपनि नेपाली जहाजले चीनमा प्रवेश पाउन सकेका छैनन् ।

उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउन निर्माणाधीन पूर्वाधारको काम छिटोभन्दा छिटो सम्पन्न गर्न पनि चिनियाँ पर्यटनमन्त्रीले चासो जनाएका थिए । भ्रमणले दुई देशको सम्बन्धलाई प्रगाढ तुल्याउनका साथै दुईवटा मन्त्रालयबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाएर परिणाममुखी काम गर्न आपसी सहकार्यका साथ पारस्परिक लाभका विषयलाई अघि बढाउने समझदारी बनेको मन्त्री अधिकारीको भनाइ छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हालै भित्र्याएको दुई नयाँ वाइड बडी विमानले चीनका विभिन्न शहरमा उडान गर्न पाउने अपेक्षा गरिएको छ । यसले नेपालमा चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि हुनुका साथै चीन र नेपालको आवागमनलाई थप सहज र प्रभावकारी बनाउने विश्वास लिइएको मन्त्री अधिकारीले उल्लेख गरे ।

भ्रमणमा सहभागी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले नेपालबाट चीन जाने अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई कसरी सहजरुपमा प्रवेश गराउने भन्नेबारे चिनियाँ पर्यटनमन्त्रीले पहल गर्ने आश्वासन दिएको जानकारी दिए । नेपालको पर्यटन प्रवद्र्धनमा चीन सरकारले धेरैभन्दा धेरै आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न अभिप्रेरित गरेको छ ।

नेपाललाई प्रमुख गन्तब्यको सूचीमा समावेश गरेर चीनले वर्षौंअघिदेखि सघाउँदै आएको छ । सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत सुमधुर रहेको नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले नेपालको चार दिवसीय भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटनमन्त्री लु सङ्गेङले पर्यटकीय पूर्वाधार बनाएर सघाउने बताएका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पर्यटनमन्त्री अधिकारीले नेपालको पर्यटन प्रवद्र्धनमा चीनले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न दुवै पक्षले अपनाउने रणनीतिबारे छलफल भएको बताए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ। पर्यटन मन्त्रालको ‘नेपाल टुरिजम स्टाटिटिक्स–२०१७’ का अनुसार एक लाख ४६ हजार ६४ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०१६ मा एक लाख चार हजार, सन् २०१५ मा ७७ हजार ९८४,सन् २०१४ मा एक लाख २३ हजार ८०५ र सन् २०१३ मा एक लाख १३ हजार १७३ चिनियाँ पर्यटक नेपाल आए ।

नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१८ को नौ महीनामा एक लाख २१ हजार ३७८ चिनियाँ पर्यटक आएका छन् । सोही अवधिमा सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटन बोर्डले पनि चिनियाँ भाषामा वेबसाइट बनाएर प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । बोर्डको अभियानलाई मन्त्री लुले प्रशंसासमेत गरे ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चीनलाई पर्यटनको मुख्य स्रोत बजारका रुपमा प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको बताए। नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी बनाउने र चिनियाँ पर्यटन बढीभन्दा बढी आउने वातावरण सिर्जना गर्ने सन्दर्भमा आवश्यक चिनियाँ भाषा र अरु प्रवद्र्धनका कामलाई प्रभावकारीरुपमा अघि बढाउनेबारे सहमति भएको पर्यटनमन्त्री अधिकारीले जानकारी दिए।

२०७५ कार्तिक २८ गते २:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर