लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २८ गते १०:०९

रुपन्देही, । नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ ।

लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा मायादेवी मन्दिर परिसरमा शुरु भएको सो तीनदिने कार्यक्रममा १८ देशका भिक्षु–भिक्षुणी, उपासक–उपासिकाहरु सहभागी छन् ।

नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्सकुल, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय, संविधानसभा सदस्य दुर्गा उपाध्याय, प्रदेश सांसद फकरुद्दिन खान, अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रीले संयुक्तरुपमा उद्घाटन गरे ।

कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत तान्सकुलले बुद्धको दर्शन विश्वमा फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । भगवान् गौतम बुद्धको जन्मभूमिमा टेक्न पाउनु थाई नागरिकका लागि खुशीको कुरा भएको बताउँदै उनले पवित्र भुमिमा यस्ता कार्यक्रम हुनु बौद्धमार्गीका लागि महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले भिक्षुहरुको प्रयास र बौद्ध परियत्ती शिक्षाका कारण नेपालमा पनि बौद्ध धर्म फैलिँदै गएको बताए । बुद्धको शिक्षा र दर्शनको विस्तारका लागि उपासक–उपासिकाहरुले साथ दिनुपर्ने भन्दै उनले बौद्ध शासनको विस्तार र विकासमा लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

प्रदेश साँसद फकरुद्धिन खानले त्रिपिटकवाचन कार्यक्रमले लुम्बिनीको स्थान अझै माथि पुगेको बताए ।

अखिल नेपाल भिक्षु महासङ्घका अभ्यक्ष मैत्री भिक्षुले त्रिपिटक वाचन कार्यक्रमले विश्वका बौद्धमार्गीलाई लुम्बिनी आउन प्रेरित गर्ने बताए । कार्यक्रममा भिक्षु बोधिसेनले पञ्चशील प्रदान गरेका थिए ।

कार्यक्रमअघि लुम्बिनीको शान्ति दीपदेखि कार्यक्रमस्थल मायादेवी परिसरसम्म ¥याली निकालिएको थियो । तीन दिनसम्म हुने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ ।

पहिलो दिनको त्रिपिटक वाचन कार्यक्रम थाई भिक्षुहरुको नेतृत्वमा भएको छ । भोजनपछि नेपाली भिक्षुहरुको नेतृत्वमा त्रिपिटकको वाचन गरिएको छ । त्यसपछि क्रमशः बर्मा, श्रीलङ्का र क्याम्बोडियाका भिक्षुको नेतृत्वमा त्रिपिटक पाठ गरिनेछ । दोस्रो दिनको सत्रको नेतृत्व महायानी अथवा हिमाली लामा भिक्षुहरुले गर्नेछन् । यसपछि चिनियाँ तथा जापानी भिक्षुहरुको नेतृत्वमा त्रिपिटक वाचन कार्यक्रम हुनेछ । तेस्रो दिनको त्रिपिटक पाठ वाचन थाई भन्तेहरुको नेतृत्वमा शुरु हुनेछ ।

तेस्रो दिनको पाठ सकिएपछि सहभागी सबैका तर्फबाट मायादेवी मन्दिरमा शान्ति पदयात्रासहित दीप प्रज्वलनपछि कार्यक्रम सकिने महासङ्घले जनाएको छ । भिक्षुहरुका अनुसार त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदायले ९महायान, थेरवाद, बज्रयान, मूलसर्वास्तिवाद, नवयान आदि० मान्छन् । यो बौद्ध धर्मको पुरानो ग्रन्थ हो जस्मा भगवान् बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ र विभिन्न भाषाहरुमा अनुवाद भएको छ । यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुुनुअघिसम्म दिनुभएका प्रवचनहरु सङ्ग्रह गरिएको छ ।

२०७५ कार्तिक २८ गते १०:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर