पर्वत जिल्ला प्रशासनमै स्वास्थ्य परीक्षण सेवा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २९ गते ३:२८

लक्ष्मीप्रसाद सापकोटा

पर्वत, । जिल्ला प्रशासन कार्यालय, पर्वतमा सेवाग्राहीको स्वास्थ्य परीक्षण सेवा शुरु गरिएको छ ।

नागरिकता, राहदानी, भारतीय पेन्सन सुविधा, नाता प्रमाणित र विभिन्न सार्वजनिक अपराधका मुद्दालगायतका कामले कार्यालयमा आउने सेवाग्राहीलाई आकस्मिकरूपमा आइपर्ने स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न यो सेवा शुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पहिलो चरणमा हरेक बुधबार स्वास्थ्य परीक्षण गरिने र विस्तारै प्रभावकारी हुँदै गएमा शनिबारबाहेक सबै दिन सुविधा दिइने बताए ।

स्वास्थ्य परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला कारागारमा कार्यरत स्वास्थ्यकर्मीलाई परिचालन गरिने भएको छ । स्वास्थ्यकर्मीले सेवाग्राहीको उच्चरक्तचाप, सामान्य रुघाखोकी, ज्वरो, चोटपटकलगायतका समस्याको तत्काल उपचार गर्नेछन् भने जटिल रोगका लागि उचित परामर्श प्रदान गरिने जिल्ला कारागारका स्वास्थ्य सहायक धनकुमारी पुनले बताईन् ।

स्तनपानकक्षको तयारी

प्रमुख ढकालले प्रशासन कार्यालयमा आउने सुत्केरी तथा साना बालबच्चा भएका महिलालाई लक्षित गरी छुट्टै स्तनपानकक्षसमेत निर्माण गर्ने तयारी गरेको पनि जानकारी दिए । निकट भविष्यमै सरिने नयाँ भवनबाट कार्यालय सञ्चालनमा आएपछि व्यवस्थित स्तनपानकक्ष पनि सञ्चालन गरिने ढकालले जानकारी दिए ।।

देउसीभैलोको रकमले सडकवत्ती

देउसीभैलोबाट सङ्कलित रकमले यहाँका युवाले सडक बत्ती जडान गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–१२ को समृद्ध ठुलीपोखरी युवा क्लबमा आवद्ध युवाले देउसीभैलोबाट सङ्कलित रकमले गाउँका मुख्य सडक, चोक, विद्यालय, क्याम्पस र स्वास्थ्यचौकी वरिपरिका सडकमा बत्ती जडान गरेका हुन् । ठुलीपोखरीको केन्द्रविन्दुमा रहेको स्थानीय बजार र सार्वजनिक स्थानमा सडक बत्ती र फोहर व्यवस्थापनमा लागि डस्विन राख्न शुरु गरिएको क्लबका अध्यक्ष प्रकाश गदालले जानकारी दिए ।

क्लबले देउसीभौलोबाट रु ४२ हजार सङ्कलन गरेको थियो भने अन्य रकम वडा कार्यालय, नगरपालिका र स्थानीय सङ्घ संस्थासँग सहकार्य गरेर वडाका सबै सडकका मुख्य चोकहरुमा सडकबत्ती जडान गर्न थालिएको हो ।

पहिलो चरणमा अत्यावश्यक देखिएका २० स्थानमा सडक बत्ती जडान गरिने भएको छ भने अन्य स्रोतको व्यवस्थापन गरेर सबै टोल र बस्तीमा पनि बत्ती व्यस्थापन गरिने क्लबले जनाएको छ । सामाजिक क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने उद्देश्यले सडक बत्ती र डस्टविन राखिएको क्लबका कोषाध्यक्ष बबिता गौतमले बताए ।

फलेवास नगरपालिका–५ खानीगाउँमा रहेको जनता आधारभूत विद्यालयले सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट रु चार लाख ३० हजार सङ्कलन गरेको छ ।

२०७५ कार्तिक २९ गते ३:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर