प्रदेश नं ५ लाई ध्वनि प्रदूषणमुक्त बनाउने अभियान शुरु

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ३० गते ७:०७

रुपन्देही,। प्रदेश नं ५ लाई ध्वनि प्रदूषणमुक्त बनाउन ट्राफिक प्रहरीले स्थानीय निकायसँग मिलेर अभियान शुरु गरेको छ ।

सवारीको चापका कारण प्रदेशका मुख्य शहरमा ध्वनि प्रदूषण बढेको गुनासो आएपछि प्रहरीले अभियानको थालनी गरेको हो ।

प्रहरीले पहिलो चरणमा प्रदेश ५ को केन्द्र रहेको बुटवलबाट सवारी साधनमा हर्न बजाउन नपाउने अभियानको थालनी गरेको प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारीले जानकारी दिए ।

अभियानअन्तर्गत प्रहरीले मङ्सिर १ गतेदेखि बुटवल बजारलाइ हर्न निषेधित क्षेत्र घोषणा गरेको छ । बुटवलको तल्लो सिद्धबाबादेखि योगीकुटी, बेलबासदेखि धागो कारखानासम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको प्रहरीले जनाएको छ । प्रदेश ५ को केन्द्र तोकिएसँगै बुटवलमा सवारीको चाप बढेका कारण ध्वनि प्रदूषण बढेपछि यो अभियान थालिएको प्रहरीले जनाएको छ ।

पहिलो चरणमा नमूनाका रुपमा बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । यसका लागि बुटवल उपमहानगरपालिका र प्रहरीले बुटवलमा सरोकारवालासँग छलफल गरेका थिए ।

छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शहरको सुन्दरीकरणका साथै ध्वनि, धुलो र वायु प्रदूषणलाई समेत क्रमशः न्यूनीकरण गर्दै जाने प्रतिबद्धता जनाए । बुटवलपछि प्रदेशका अन्य उपमहानगरपालिकालाई पनि हर्न निषेधित क्षेत्र तोकिने प्रदेश ५ का प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।

बुटवलपछि नेपालगञ्ज र घोराहीलाइ पनि हर्न निषेधित क्षेत्र घोषणा गर्ने तयारी प्रहरीको छ । दाङको तुल्सीपुरलाई यसअघि हर्न निषेधित क्षेत्र घोषणा गरिए पनि व्यावहारिक कार्यान्वयन भएको थिएन । मङ्सिरको पहिलो हप्ताभरि प्रचारप्रसार तथा जनचेतनामूलक अभियान चलाउने र दोस्रो हप्तापछि नियम पालना नगर्नेलाइ कारवाही गरिनेछ ।

“ध्वनि प्रदूषणबाट उत्पन्न हुने समस्याको निदान गर्न प्रथमतः हर्न नियन्त्रण, सडकको स्तरोन्नति र ट्राफिक चेतना प्रवाह गर्न जरुरी छ।” प्रहरी उपरीक्षक चन्दले भने, “मानव स्वास्थ्य र भविष्य हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसको रक्षाका लागि स्वयं सचेत हुनुपर्छ ।”

सवारीको बढ्दो चापका कारण प्रदेशका मुख्य बजार क्षेत्रमा ध्वनि प्रदूषण अत्यधिक बढेको सर्वसाधारणको गुनासो छ । गाडीका हर्नले सारै समस्या बनाएको छ । घरमै चर्को आवाज आउँछ मिलनचोक निवासी गीता पाण्डे भन्छिन्, “सबैभन्दा बढी मोटरसाइकलको आवाजले समस्या हुन्छ ।” धेरै सवारीले हर्न बजाउने हुँदा कुन साधनले बजाइरहेको छ भनेर थाहा पाउन पनि गाह्रो हुने गरेको ट्राफिक प्रहरी चन्द्र थापा बताउछन् ।

सवारी साधनका चालक भने हर्न बजाउनुको आफ्नै बाध्यता सुनाउँछन् । भिडभाड भएको ठाउँ र घुम्तीमा हर्न बजाउनु बाध्यता हो । सवारी चालक रेशम गैरे भन्छन्, “कुनैबेला अगाडि हिँडिरहेका सवारी साधनले सङ्केत नदिँदा पनि हर्न बजाउनुपर्छ ।”

यसअघि ट्राफिक प्रहरीले ध्वनि प्रदूषण नियन्त्रण गर्न ‘प्रेसर’ हर्न प्रयोग नगर्न अनुरोध गरे पनि नियन्त्रण हुन सकेको छैन । विद्यालय, अस्पताललगायतका केही क्षेत्रलाई हर्न निषेधित तोकिएको छ तर सवारी चालकले त्यसको पालना गरेका छैनन् ।

विषेशज्ञका अनुसार शहरी भागमा सवारी साधनले सय डेसिबलसम्मको ध्वनि प्रदूषण गरिरहेको छ, तर, मानिसले ६० डेसिबलसम्मको ध्वनि मात्र सुन्न सक्छन् । ८० डेसिबलसम्मको ध्वनिले मानिसको ज्यानसमेत जानसक्ने विषेशज्ञ बताउँछन् । नेपालमा ध्वनि प्रदूषणका कारण १४ प्रतिशत मानिस बहिरोपनको समस्याबाट ग्रसित रहेको एक अध्ययनले देखाएको छ ।रासस

२०७५ कार्तिक ३० गते ७:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर