अमेरिकालाई झट्का ! उत्तर कोरियाले बनायो प्रविधियुक्त हतियार

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ३० गते १४:४२

एजेन्सी । उत्तर कोरियाली नेता किम जोंग उनले उच्च प्रविधियुक्त एउटा नयाँ अस्त्रको सफल परीक्षणको सुपरिवेक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

परीक्षण गरिएको नयाँ अस्त्र कस्तो खालको हो भन्नेबारे केसीएनए समाचार संस्थाले विस्तृत विवरण चाहिँ खुलाएको छैन। लामो समयपछि अस्त्रको परीक्षण गरिएको मात्रै उसले उल्लेख गरेको छ। तर यो वर्ष जानकारीमा आएको यो पहिलो महत्त्वपूर्ण परीक्षण भएको बताइएको छ।

गत जुनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किमसँग ऐतिहासिक शिखर बैठक गरेका थिए, जहाँ किमले पारमाणविक निरस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए। शिखर बैठकमा भएको सहमतिमा उत्तर कोरियाले निरस्त्रीकरणका काम गर्ने उल्लेख छ।

तर त्यसका लागि समयसीमा, विस्तृत विवरण वा प्रमाणीकरण प्रक्रियाको संयन्त्रबारे केही उल्लेख गरिएको छैन। ट्रम्प किमबीच दोस्रो शिखर बैठकको मिति तोक्ने विषयमा यसै हप्ता हुने भनिएको बैठक पनि हुन सकेन र सिंगापुरको ऐतिहासिक शिखर बैठकपछि प्योङयाङ र वाशिङटनबीचको सम्बन्धमा पनि तिक्तता देखिन थालेको छ।

उत्तर कोरियाली सञ्चारमाध्यमले परीक्षण गरिएको अस्त्रको प्रकृतिबारे केही खुलाएको त छैन, तर उसका क्षेप्यास्त्र अखडाको सञ्जालबारे एउटा भूपउपग्रह तस्वीरमा एउटा रिपोर्ट सार्वजनिक भएपछि पछिल्लो खबर आएको हो।

उत्तर कोरियाबाट कस्तो खालको अस्त्रको परीक्षण गरिएको हो भन्नेबारे अध्ययन गरिरहेको दक्षिण कोरियाले प्रतिक्रिया दिएको छ। धेरैले भन्ने गरेका छन्, उत्तर कोरियाले अस्त्र विकास नगर्ने र क्षेप्यास्त्र केन्द्रहरू बन्द गर्ने विषयमा कुनै सहमति जनाएको अवस्था नै होइन।

उत्तर कोरियाली सञ्चारमाध्यमले के भने ?
केसीएनएले भनेको छ, ‘किम जोंग उनले राष्ट्रिय प्रतिरक्षा विज्ञान प्रतिष्ठानमा उच्च प्रविधियुक्त एउटा नयाँ अस्त्र परीक्षणको अवलोकलन गर्नुभएको छ।’

‘उच्च प्रविधियुक्त अस्त्रको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ।’ पछिल्लो परीक्षणप्रति किमले ठूलो सन्तुष्टि जाहेर गरेको केसीएनएले उल्लेख गरेको छ।

२०७५ कार्तिक ३० गते १४:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर