राष्ट्रिय परिचयपत्र वितरण सोमबारदेखि शुभारम्भ हुने

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २ गते ११:००

रवीन्द्र काफ्ले
फिदिम,। पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ ।

नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुरुआत गर्न लागिएको हो ।

भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्य शुभारम्भ गर्न गृहमन्त्री रामबहादुर थापा सोमबार पाँचथर आउने कार्यक्रम तय भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । वयोवृद्धा भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यको थालनी भएको थियो ।

राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन शुभारम्भ कार्यक्रममा प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं– २ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राई लगायत विशिष्ट व्यक्तित्वसमेत सहभागी हुने निर्देशक न्यौपानेले जानकारी दिए ।

उक्त कार्यक्रमको तयारी पूरा भएको तथा सोही अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम समेत आयोजना गरिएको उनले बताए ।
सोमबार नै पाँचथरमा ५० जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । यसका लागि उनिहरूको नामावली जिल्ला प्रशासन कार्यालय पाँचथरमा सार्वजनिक गरिएको छ । विवरण सङ्कलनको समयमा जस्तै राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने व्यक्तिको जैविक विवरण परीक्षण गरेर मात्रै वितरण गर्ने विभागको तयारी छ ।

सोमबारदेखि पाँचथरमा निरन्तर राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढ्ने विभागले जनाएको छ । पाँचथर जिल्लामा नेपालमै पहिलो पटक गत असार ५ गते देखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको कार्य भइरहेको छ । हालसम्म पाँचथरका ५२ हजार नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

सरकारले आगामी तीन वर्षभित्र नेपालका सबै जिल्लाबाट राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिरहेको विभागले जनाएको छ । यसै आर्थिक वर्षमा प्रदेश नं– १ का झापा र सङ्खुवासभा, प्रदेश नं– २ का महोत्तरी र सप्तरी, प्रदेश नं ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, प्रदेश नं ५ का कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको थालनी गर्ने कार्यक्रम रहेको विभागका निर्देशक न्यौपानेले जानकारी दिए ।

ती जिल्लामा कार्यालय स्थापना तथा जनशक्ति व्यवस्थापनको कार्य चाँडै शुरु हुने उनको भनाइ छ । रासस

२०७५ मंसिर २ गते ११:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर